चितवन । उनी अहिले पनि मल र माटोसँग खेलिरहेका छन् । किसानहरुलाई मल वितरण गर्यो, माटोको गुणस्तर बुझ्यो । माटोको उत्पादकत्व क्षमता जाँच्यो । रासायनिक मलको प्रयोग कम गर्न किसानहरुलाई सुझाव दियो । विभिन्न गोष्ठी तथा कार्यक्रमहरुमा रासायनिक मलको बेफाइदा बतायो ।
रविन्द्र गौतम २६ वर्षदेखि यसरी नै समय गुजारिरहेका छन् । नवलपरासी, हेटौंडा, वीरगञ्ज, चितवनको माटोमा उनको २६ वर्षको समय व्यतित भयो । जहाँ जाँदा पनि उनले रासायनिक मलको प्रयोग कम गर्न सुझाउ दिन्छन् । तर पनि रासायनिक मलको प्रयोग दिनहुँ झन्झन् बढिरहेकोमा उनी दिक्क पनि भएका छन् ।
कृषि सामग्री कम्पनी चितवनका प्रमुख गौतम वर्खाको सिजनमा रासायनिक मल लिन जहिले पनि किसानका लाइन देख्दा उनको मन धेरै नै पिरोलिन्छ । उनी भन्छन्, ‘रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने हो, तर यहाँ दिनहुँ प्रयोग बढिरहेको छ । यसले माटोको उर्वराशक्ति सखाप पार्दैछ ।’
रासायनिक मलको प्रयोग बढ्दो
आजभन्दा २० वर्षअघि चितवनमा ५ हजार मेट्रिक टन रासायनिक मल भए फालाफाल पुग्थ्यो । त्यतिबेला ६० हजार हेक्टरभन्दा बढी जमिन खेतीयोग्य थियो । तर अहिले खेतीयोग्य जमिन घटेर २९ हजार हेक्टरको हाराहारीमा छ । तर रासायनिक मलको माग तेब्बरले बढिरहेको छ ।
चितवनमा अहिले १५ हजार मेट्रिक टन रासायनिक मलको माग छ । कृषि सामग्री कम्पनी चितवनका प्रमुख गौतम भन्छन्, ‘खेतीयोग्य जमिन घट्दा पनि रासायनिक मलको प्रयोग बढिरहेको छ किनभने किसानलाई एउटा भ्रम छ, रासायनिक मल धेरै हाल्यो भने धेरै उत्पादन दिन्छ ।’
‘गत वर्ष एक कठ्ठामा २ किलो रासायनिक मल हाल्ने किसान यो वर्ष ३ किलो मल हालिरहेको छ । यो वर्ष ३ किलो मल हाल्यो, अर्को वर्ष ५ किलो मल हाल्छ’ गौतम भन्छन्, ‘यसरी किसानले रासायनिक मलको मात्रा बढाइरहेका छन्, तर सरकार घटाउन चाहिरहेको छ, त्यसैले सीमित मल पठाउँछ, यहाँ पुग्दैन ।’
किसानले खेतबारीमा रासायनिक मल बढाइरहँदा माटोको गुणस्तर खस्केको भेउ नै पाउँदैनन् । पाँचसात वर्षपछि त्यो खेतको माटो ध्वस्त हुन्छ, अनि त्यतिबेला किसान टाउको समाउने अवस्थामा पुगेका उदाहरण उनीसँग प्रशस्त छ ।गौतमका अनुसार कति जग्गामा कति रासायनिक मल हाल्नुपर्छ किसानलाई भेउ नै छैन । रासायनिक मल ठोक्नुपर्छ भनेपछि आँखा चिम्लेर ठोक्छन् । माटोको उर्वराशक्ति ह्रास भएको पत्तै पाउँदैनन् । अन्तिममा धोका खान्छन् ।
असार साउनमा माग बढी
चितवनमा केराखेती फस्टाइरहेको छ । माछापालन पनि बढिरहेकै छ । धानखेती पनि छ । केराखेती, धानखेती र माछापालन गर्ने सबैले असार साउनमै मल खोज्छन् । त्यतिखेर माग बढी हुन्छ । कस्तो संयोग ! त्यतिबेला विभिन्न कारणले मल आउन ढिला हुन्छ, अनि किसान घण्टौँ लाइनमा बस्न बाध्य हुन्छन् ।
धानकै हाराहारीमा मल चाहिन्छ, केरालाई पनि । माछापालनमा लेउ उत्पादन गर्न मल हाल्छन् किसान । ‘गएको असार साउनमा समयमै पर्याप्त मात्रामा मल आएन’ गौतम भन्छन्, ‘किसानलाई रासायनिक मलले यति गाँज्यो कि यो बाहेक अरु केही उपाय छैनजस्तो बनाइसक्यो ।’
सरकार घटाउन चाहन्छ रासायनिक मल
सरकार आयात हुने रासायनिक मल घटाउन चाहन्छ । प्राङ्गारिक मल बढाउन चाहन्छ । तर यहाँ उल्टो भइरहेको गौतम बताउँछन् । यहाँ किसान रासायनिक मल घटाउन चाहेको देखिदैन । ‘माटो बिग्रेको छ, टन्नै रासायनिक मल हाल्ने बानी भैसक्यो नत्र चित्त बुझ्दैन किसानको’ उनी भन्छन्, ‘रासायनिक मल हालेर बिग्रेको माटो तह लाग्दैन । प्राङ्गारिक मल हालेर विस्तारै माटोको गुणस्तर बढाउँदै लैजानुपर्छ ।’
सरकारले रासायनिक मलमा धेरै लगानी गरेको छ । सरकारले अन्तर्राष्ट्रिय बजारबाट युरिया मल बोराको २ हजार २५० रुपैयाँमा किनिरहेको छ । तर यहाँ किसानलाई ७६५ रुपैयाँमा दिइरहेको छ । युरियाको तुलनामा डीएपी र पोटासको अनुदान कम छ । उनी भन्छन्, ‘सरकारले अनुदानमा मल दिएकै छ, ठूलो लगानी छ, त्यसैले सरकार रासायनिक मल घटाएर प्राङ्गारिक मल बढाउन चाहन्छ ।’
बिग्रियो माटो
माटो बिग्रिनुको धेरै कारणमध्ये रासायनिक मल र विषादीको अत्यधिक प्रयोग नै प्रमुख कारण हो । किसान प्राङ्गारिक मल बनाउन खोज्दैनन् । किसान चोकमा बसेर चियाको चुस्की लिँदै चुड्की बजाउन सक्छन्, तर आफ्नै घरमा जम्मा भएको फोहोर संकलन गरेर मल बनाउन खोज्दैनन् ।
‘किसान घरको फोहोर फाल्न नगरपालिकाको गाडी कहिले आउँछ भनेर बाटो हेर्छन्, तर त्यो फोहोरको मल बनाउन रुची देखाउँदैनन्, बरु दुई चार किलो रासायनिक मल लिनको लागि बोरा लिएर लाइनमा बस्छन्’ गौतमले भने ।
घरमै गड्यौला मल बनाउन सकिन्छ । पातपतिङ्गरबाट कम्पोष्ट मल बनाउन सकिन्छ । भान्छामा खेर गएका अन्नहरुबाट मल बनाउन सकिन्छ । गाइभैैंसीको गोबरबाट गोठे मल बनाउन सकिन्छ ।
‘तरकारी लगाउने किसानको पनि प्राङ्गारिक मलतर्फ ध्यान कम छ, रासायनिक मल र विषादी नहाले उत्पादन हुँदैन भनेछन् ठोकेछन्’ गौतमले भने, ‘तत्काल बढी उत्पादन लिने लोभले रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्य तत्वहरूमा नकारात्मक असर परिरहेको छ ।’
प्राङ्गारिक स्रोत घट्नु र अम्लीयपन बढ्नुको कारण पनि यही हो । रासायनिक मल अत्यधिक प्रयोग गर्नु तथा गोबर मल प्रयोग नगर्नुले चिन्ता बढाएको छ ।
बाली लिइसकेपछि बोटलाई खेतमा जलाउँदा माटोको उर्वरा कायम राख्ने मित्र जीव र सूक्ष्म कीरा मर्छन् । तराईका अधिकांश ठाउँमा पराल, भूस, गहुँका बोटलाई खेतमा जलाउने गरिन्छ । यसले पनि माटोको उर्वराशक्ति नष्ट भइरहेको छ ।
‘प्राङ्गारिक मल हालेर उत्पादन गरे सरकारको पैसा विदेश पनि जाँदैन, उत्पादन पनि अर्गानिक हुन्छ । किसानको लागत पनि कम हुन्छ’ गौतम बुझाउँछन् ।
माटोको पैत्रिक पदार्थको अति दोहन गर्नु अर्थात् आवश्यकभन्दा बढी उत्पादन लिनुले पनि माटोको उर्वराशक्ति घटाएको छ । एउटै मात्र बाली लगाउने प्रवृत्तिले पनि उर्वरा शक्ति घटाएको छ । गाईवस्तु कम पाल्नु, वन जंगलमा स्याउला कम पाइनुले पनि माटोको उर्वराशक्ति कमजोर हुँदै गएको छ ।
रासायनिक मलले माटोको चिस्यान घटाउँछ । माटोको खुकुलापना पनि घटाउँछ । फेरि रासायनिक मलको आयु जम्मा एकडेढ महिनामात्र हो । उनी भन्छन्, ‘यस वर्ष हालेको रासायनिक मलले अर्को वर्ष त काम गर्दैन, तर प्राङ्गारिक मलले त वर्षौसम्म काम गरिरहेको हुन्छ ।’
घरमै बनाऔँ प्राङ्गारिक मल
प्राङ्गारिक मल घरमै बनाउन सकिन्छ । बजारतिर पनि प्राङ्गारिक मल खरिद गर्न पाइन्छ । घरबाट निस्केको मल बन्ने फोहोरलाई मल बनाउनुपर्छ । रासायनिक मलले माटोको पिएच घटाइरहेको छ । यसलाई कम गर्दै लैजान कृषि सामग्री कम्पनी भरतपुरका प्रमुख गौतमले सुझाव दिएका छन् । उनले भने, ‘किसानमा मल बनाउने प्रवृत्ति बस्नुपर्छ, बोरा बोकेर रासायनिक मलको लाइनमा बस्ने प्रवृत्ति हट्नुपर्छ ।’
माटोमा शत्रुजीव र मित्रुजीव हुन्छन् । रासायनिक मलले मित्रुजीव पनि मार्छ तर प्राङ्गारिक मलले मित्रुजीवलाई बढ्न मद्दत गर्छ । गौतम भन्छन्, ‘अहिले खेतबारीमा गड्यौला कम देखिन्छ, यो जीव मित्रुजीव हो तर रासायनिक मलले यसलाई खाइसक्यो ।’
प्रतिक्रिया दिनुहोस
बाबु कृषभ
मंगलबार, १८ मंसिर २०७५, १७ : ०२
लेखकबाट थप