ब्यालोन डी’ओर अवार्ड मोड्रीचलाई, तोडियो मेसी-रोनाल्डोको एकाधिकार

एजेन्सी

मंगलबार, १८ मंसिर २०७५, १० : २२
ब्यालोन डी’ओर अवार्ड मोड्रीचलाई, तोडियो मेसी-रोनाल्डोको एकाधिकार

एजेन्सी  ।  क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ अोर अवार्ड जितेका छन् । सोमबार राति  फ्रान्सको पेरिसमा भएको अवार्ड कार्यक्रममा लुका मोड्रिचले  फुटबलका महान हस्तीहरुलाई पछि पार्दै  विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् ।

 ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् । 

विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए । 

मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् । पछिल्लो १० संस्करणमा रोनाल्डो र मेसीले पाँचपाँच पटक उपाधि जितेका थिए । सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यस अवार्ड जितेपछि रोनाल्डो र मेसीबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस