जुम्लाका कृषकले मुख्यमन्त्रीलाई भने- स्याउको बजारीकरणमा सघाइदिनुहोस्

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, १० : ४८
जुम्लाका कृषकले मुख्यमन्त्रीलाई भने- स्याउको बजारीकरणमा सघाइदिनुहोस्

काठमाडौं। जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्लाका स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताए । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको उनको गुनासो छ । उक्त विषयलाई पनि सम्बोधन गर्न किसानले माग गरेका थिए ।

प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्गमात्र कालोपत्रे हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताए । वास्तविक किसानले अनुदान नपाएका उनको आरोप छ ।  

 

 

 

 

 

 

मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीत भण्डारको व्यवस्था हुनुपर्ने माग गरे । 

जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आर्थिक वर्षमा जुम्लाबाट ६१ करोड ४१ लाखको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस