स्पेनिस ला लिगा : बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी

सोमबार, १७ मंसिर २०७५, १० : २६
स्पेनिस ला लिगा : बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राती भएको खेलमा भिल्लारियललाई २–० गोलले हराउँदै बार्सिलोना  शीर्ष स्थानमा उक्लिएको हो । 

यसअघि शिर्ष स्थानमा रहेको सेभिल्ला आइतबार राती नै भएको खेलमा डिर्पोटिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनालाई शीर्ष स्थान ओगट्ने मौका मिलेको थियो । 

बार्सिलोनाले ३६औं मिनेटमा जेरार्ड पिकेको गोलमा अग्रता लिएको थियो । पिकेले ओउसमाने डिम्बालेको पासमा हेड गोल गरेका थिए । कार्लेस एलेनले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । कार्लेसले लियोनल मेसीको पासमा गोल गरेका थिए । 

पहिलो हाफमा केही राम्रो अवसर गुमाएको भिल्लारियल दोस्रो हाफमा निरिह बनेको थियो । खेलको अन्तिम समयमा मेसील पोस्ट नजिक राम्रो गोलको अवसर गुमाएका थिए । लिगमा १४ खेल सकेको बार्सिलोनाले २८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ । १४ अंक बनाएको भिल्लारियलले रेलिगेसन लाइनमात्र छलेको छ ।
 
अर्को खेलमा अलाभेसले ३७औं मिनेटमा सुरुवाती गोल गरेको थियो । अलाभेसका जोनीले गोलगर्दै टोलीको उत्साह बढाए । त्यसपछि सेभिल्लाले ७८औं मिनेटमा बराबरी गोल फर्काउन सकेको थियो । 

सेभिल्लाका विसाम बेन यडरले बराबरी गोल फर्काएका थिए । सेभिल्लालाई रोकेको अलाभेस २४ अंकका सात तालिकाको चौथो स्थनमा छ ।

प्रतिक्रिया दिनुहोस