साढे ३३ किलो सुनकाण्डको अनुसन्धान अलपत्र

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १५ : १३
साढे ३३ किलो सुनकाण्डको अनुसन्धान अलपत्र

काठमाडौं । साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै गुपचुप रहँदा अनुसन्धान अलपत्र परेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा साढे ३३ किलो सुनकाण्डको थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मेवारी दिन सुझाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएको छैन । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘यसबीचमा हामीलाई केही सूचना पनि आएका थिए । तर, प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै अड्किएको अवस्थामा केही गर्न सकिएन ।’ स्रोतका अनुसार ६ असारमा व्यवसायी विमल पोद्दार पक्राउ परेसँगै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए । पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन् । प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला समितिले पोद्दारलाई पक्राउ गरेको थियो ।
छानबिन समितिलाई दिएको बयानमा पोद्दारले आफ्ना साझेदार व्यवसायी दीपक मल्होत्रा, केही पूर्वमन्त्री र अवकाशप्राप्त प्रहरी अधिकारीहरुको नाम लिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले समितिलाई अनुसन्धान छिटो निष्कर्षमा पुर्‍याउन दबाव दिएको स्रोत बताउँछ । छानविन समितिले प्रतिवेदन बुझाउँदा २ सय ९३ जनालाई शंकास्पदको सूचीमा राखेको थियो । स्रोत भन्छ, ‘त्यसमा घरानिया व्यापारीदेखि पूर्वमन्त्रीसम्मको नाम मुछिएको थियो ।’

आरोपितसँगै आईजीपी
इन्टरपोलको महासभामा भाग लिन नेपालबाट यूएई गएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङ लगायतका अधिकारीले त्यहाँ सुनकाण्डका एक आरोपितसँग भेट गरेको स्रोतको दाबी छ ।

सुनकाण्डमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सँग जोडिएर हुन्डी कारोबार गरेको आरोप लागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई यूएईमा व्यवसाय गर्दै आएका ठाकुर ढुंगानासँग आईजीपीसहितका प्रहरी अधिकारीहरु ‘‘रिट्रिट’ मा सहभागी भएका हुन् । इन्टपोलको सम्मेलन सकिएलगत्तै गैरआवासीय नेपाली संघ (एनआरएन) को वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका आईजीपीलाई रास अल खेलाको पहाडमा रिट्रिट गराइएको थियो ।

गत शुक्रबार आयोजित एनआरएन युएईको राष्ट्रिय भेलामा आइजीपी खनाल प्रमुख अतिथि बनेका थिए । कार्यक्रममा सहभागी ठाकुरले मन्तव्यसमेत व्यक्त गरेका थिए । त्यहाँ आईजीपी बसेको स्थानबाट पछाडि पट्टि ढुंगाना बसेका थिए । एनआरएन अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रम व्यक्तिगत भएको भन्दै खानपिनको फोटो नखिचिदिन पटक–पटक सहभागीलाई अनुरोध गरेका थिए । कार्यक्रममा एनआरएनका आईसीसी सदस्य मनोज गोर्खाली, जनजाति महासंघ, यूएईका अध्यक्ष पासाङ शेर्पा, व्यवसायी सालिक सुवेदी, बैंक प्रतिनिधि नवीन पौडेल, एनआरएन यूएईकै राजु केसीसहित थप २२ जना सहभागी थिए । उनले सुनकाण्डका अर्का अभियुक्त बाजेको सेकुवाका मालिक चेतन भण्डारीसँग समेत भेटेको स्रोत बताउँछ ।

स्रोतका अनुसार यूएई भ्रमणमै रहेका बेला आईजीपीले समितिको प्रतिवेदनमा नाम परेका व्यवसायी दीपक मल्होत्रासँग पनि भेटघाट गरेका थिए । सो भेटमा आईजीपीसँगै सुबु केसी पनि सहभागी थिए । केही समयअघिसम्म उनी अमेरिकामा बस्दै आएका थिए । हाल उनी नेपालमै छन् । खनालले आफू निकटस्थलाई सुबु स्कुलमा सँगै पढ्ने साथी भएको बताउने गरेका छन् । सुबुले हाउजिङ, हाइड्रो लगायतमा लगानी गर्ने गरेको स्रोत बताउँछ । त्यहाँ उनले सुनकाण्डका अर्का अभियुक्त बाजेको सेकुवाका मालिक चेतन भण्डारीसँग समेत भेटेको स्रोत बताउँछ । गोरे समूहले भित्र्याएको ३८ क्वीन्टल सुनमा भण्डारीको पनि लगानी भेटिएको सुन अनुसन्धान समितिले दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस