नेइमार र एम्बाप्पे घाइते हुँदा पिएसजी समस्यामा

एजेन्सी

विहीबार, ०६ मंसिर २०७५, ०९ : १०
नेइमार र एम्बाप्पे घाइते हुँदा पिएसजी समस्यामा

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पे दुवैले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार चोट बोके । यससँगै अब आउने साता लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलका लागि दुवै खेलाडीको उपस्थितिमा शंका उब्जिएको छ ।

ब्राजिलका कप्तान नेयमारले क्यामरुनविरुद्ध मैत्रीपूर्ण खेलमा ८ मिनेट मात्र खेले । तिघ्रामा चोट लागेपछि उनले मैदान छाडेर निस्किएका थिए । उनकै स्थानमा मैदान प्रवेश गरेका रिचार्लीसनले गोल गर्दै ब्राजिलले खेल १-० ले जितेको थियो । ब्राजिलका टिम डाक्टरले नेयमारको चोट प्रारम्भिक परिक्षणमा हेर्दा खासै गम्भीर नरहेको बताएका छन् । एमबाप्पे पनि उरुग्वेविरुद्ध मैत्रीपूर्ण खेलमा घाइते भए । ल्यान्डीङ गर्ने क्रममा उनको काँधमा चोट लागेको हो ।

पीएसजीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै खेलाडीको विस्तृत परिक्षण गरिएको बताएको छ । ‘ नेयमार र एमबाप्पे दुवैले आज स्वास्थ्य परिक्षण गरे । नेयमारको दायाँ तिघ्रा चोट देखिन्छ भने एमबाप्पेको दायाँ काँधमा समस्या देखिएको छ ।दुवै खेलाडीलाई ४८ घण्टाको लागि अनुगमनमा राखिएको छ ।’ क्लबले जनाएअनुसार २ दिनपछि मात्र दुवै खेलाडी खेल्ने-नखेल्ने बारेमा थाहा हुन्छ ।

नेयमार आफैंले पनि सामाजिक संजाल इन्स्टाग्राममा संदेश लेख्दै चोट गम्भीर नरहेको बताएका छन् । ‘मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सबैलाई धन्यवाद । मेरो चोट गम्भीर छ जस्तो लाग्दैन,’ उनले लेखेका छन् । ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारले पन नेयमारको चोट ठूलो नभएको पक्का गरेका छन् । उनको सामान्य चोट नाबल्झियोस भन्ने हिसाबले आठौं मिनेटमा नै परिवर्तन गरिएको प्रशिक्षकले बताए ।

प्रतिक्रिया दिनुहोस