काठमाडौँ । जनवादी गणतन्त्र चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङ चार दिने भ्रमणमा नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं उत्रिएका उनले मंगलबार नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा नेपाली पक्षले गोन्जाउ र सांघाईमा नेपाल वायुसेवा निगमको उडान सुरु गर्ने प्रस्ताव रोखको छ । ‘हामीले नेपाल वायु सेवा निगमका विमान चीनका सहरमा उडाउने प्रस्ताव राख्यौं’, बैठकमा सहभागी पर्यटन मन्त्रालय उच्च स्रोतले भन्यो, ‘हाम्रो प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।’
पर्यटन मन्त्रालयले चीनसँग यस अघिदेखि नै हवाई रुटको विषय उठाउँदै आएको थियो । मन्त्रालयले नेवानिको वाइडबडी विमानबाट चीनका सहरमा उडान गर्ने योजना बनाएको हो ।
प्राविधिक अध्ययन मूल्यांकनको काम समयमै पूरा भए माघ अन्तिम (फेबु्रअरी) देखि उडान सुरु गर्ने नेपालको तयारी छ । मंगलबार भएको दुई देशबीचको बैठकमा नेपाली प्रतिनिधिमण्डलले उडान मितिसहितकाे विषय चिनियाँ पक्ष समक्ष उठाएको हाे । ‘हवाई रुट प्रदान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक छलफल भएको छ । यसका लागि आवश्यक अध्ययन मूल्यांकनको प्रक्रियाका छिटै अघि बढाउन दुवै पक्ष सहमत भएका छन्’, स्रोतले भन्यो ।
नेपाल–चीनबीचको हवाई सम्झौताअनुसार अहिलेकाे अवस्थामा नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नसक्छन् । चिनियाँ वायुसेवा कम्पनीहरू चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वान्जाओ, क्याथे ड्रागनले हङकङ, एयर चाइना, तिब्बत एयरलाइन्स र सिचुवान एयरलाइन्सले चेङ्दु र ल्हासाबाट काठमाडौं उडान गरिरहेका छन् । नेपाली वायु सेवा कम्पनीहरू कसैले पनि रूट निश्चित गरेर नियमित व्यवसायिक उडान गरिरहेका छैनन् ।
तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले चीनको चोङकिङमा हप्ताको एक दिन चार्टर्ड उडान गरिरहेको छ । नेपाली वायु सेवाले उडान गर्न पाउने चिनियाँ गन्तव्यहरूमा बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, कुनमिङ, चेङ्दु र सियान तोकिएका छन् ।
९ तले दरबारको पुनःनिर्माण एक महिनाभित्रै
बैठकमा भूकम्पपछि भत्किएका पुरातात्विक महत्वका विषयको पुनःनिर्माणबारे पनि छलफल भएको छ । चीनले पुनःनिर्माण प्रतिबद्धता जनाएका स्थानबारे छलफल भएको पर्यटनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । नुवकोटको ९ तले दरबार पुनःनिर्माणको काम तत्कालै सुरु गर्न चिनियाँ मन्त्री सहमत रहेको उनले बताए ।
‘चीनले महिनादिन भित्रमा नै ९ तले दरबार निमार्ण कार्य सुरु गर्ने सहमति जनाएको छ’, मन्त्री अधिकारीले भने ।मन्त्रीस्तरीय वार्तामा पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । प्राधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच भएका पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता कार्यान्वयनको फलोअपका विषयमा पनि छलफल भएको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
त्यतिबेला चिनियाँ मिडिया र ट्राभल एजेन्सी प्रतिनिधिले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने सम्झौता भएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी चिनियाँ ट्राभल एजेन्सीको प्रतिनिधिमण्डल नेपाल आउने र सम्बद्ध चिनियाँ एजेन्सीहरुले चीन फर्केर नेपालको प्रवद्र्धन गर्न दुवै देश सहमत भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०७५, १५ : ४५
लेखकबाट थप