काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजङ्ग बरालको राजीनामा पत्र प्रधानमन्त्री एंव कुलपति केपी शर्मा ओलीसामू पेस गरिने भएको छ ।
बरालले दिएको राजीनामा सनाखत नभएपछि कुलपति ओलीलाई पेस गर्न ढिलाइ भएको थियो । प्रधानमन्त्री कार्यालयले उपकुलपति बरालसँग पटक पटक फोनबाट कुरा गरेपछि कार्यालयले प्रधानमन्त्रीसामू पेस गर्न लागेको हो ।
‘भीसीसरसँग कार्यालयले कुरा गरेको छ। उहाँले मेरै हातले लेखेकोहो भन्नुभएको छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘त्रिविको कानुनी व्यवस्था हेरेर कुलपतिसामू पेस गर्ने तयारी छ।’
आज प्रधानमन्त्री ओली काठमाडौ बाहिर भएकाले फर्किएपछि पेस गर्ने तयारी प्रधानमन्त्री कार्यालयको छ ।प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले उपकुलपति बरालको राजीनामाको विषय प्रक्रियामा रहेको बताए। ‘अहिले प्रक्रियामा छ,’ उनले भने ।
उपकुलपति बराल पनि आफू सनाखतको लागि काठमाडौ आउनु नपर्ने बताए । ‘प्रधानमन्त्री कार्यालयमा मेरो कुरा भएको छ । सनाखत गर्न म काठमाडौ आउनु पर्दैन । मेरै राजीनामा हो,’ बरालले भने ।
प्रधानमन्त्री ओलीको सचिवालयले उपकुलपति बरालको राजीनामा सनाखत नभएको र सम्पर्क पनि नरहेको जनाएको थियो । प्रधानमन्त्री कार्यालयका अधिकारिका अनुसार बरालले प्रधानमन्त्री एंव कुलपति ओलीलाई भेटेर राजीनामा दिएको भए यो समस्या आउने थिएन । बरालले सहयोगी मार्फत राजीनामा पठाएकाले समस्या आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १५ : ०२
लेखकबाट थप