व्यावसायिक मौरीपालनबाट आम्दानी

विहीबार, २२ कार्तिक २०७५, १७ : ४७
व्यावसायिक मौरीपालनबाट आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आउनुभएको छ । मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आउनुभएको छ । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको कार्कीले बताउनुभयो । 

गत वर्ष मात्रै मह बिक्री गरेर रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो । चालू आवको हालसम्म रु ५० हजारभन्दा बढीको मह बिक्री भएको उहाँले बताउनुभयो । 

“महमा गुणस्तर दिन खोजेका छौँ”, उहाँले भन्नुभयो, “महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।” महको माग अत्यधिक भएपनि मागअनुसार मह पु¥याउन नसकिएको कार्कीको भनाइ छ । 

चार वर्षदेखि मौरीपालन गर्दै आउनुभएका कार्कीले नगरपालिका कार्यालयबाट रु चार लाख ५० हजार अनुदान पाएपछि उत्साहित हुनुभएको हो । अनुदान रकमबाट आधुनिक घार र उपकरण खरीद गरिएको बताइएको छ । कार्कीले भन्नुभयो, “मौरीपालनलाई विगतमा लगानी नहुँदा समस्या थियो, अनुदान रकम पाएपछि आधुनिक तरिकाले मौरीपालन गरी उत्पादनसमेत बढी लिन सकिएको छ ।” विगतको तुलनामा मौरीपालनको आधुनिक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उहाँको भनाइ छ । कार्कीसँग ६० मौरीका घार छन् । 

कार्की कुस्तीका राष्ट्रिय खेलाडीसमेत हुन् । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उहाँको योजना छ । मौरीपालनसँगै उहाँले डेरीको व्यवसायसमेत शुरु गर्नुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस