काठमाडौं। सचिव बैठकले आधुनिक प्रविधिको उपयोगगरी नागरिक एपमार्फत् सहज सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले डिजिटल माध्यमबाट नागरिकमैत्री र सरल रूपमा सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
त्यसका लागि सेवा प्रवाहसम्बन्धी विद्यमान विद्युतीय प्रणालीहरूबीच अन्तर आवद्धता गर्न तथा नागरिक एपमार्फत् सेवा प्रवाह गर्न सबै विभागले 'डिजिटल सर्भिस ट्रान्सफरमेसन' योजना बनाई शीघ्र कार्यान्वयनमा लैजाने भएको छ ।
सेवासँग सम्बन्धित विभागहरूले आपसी समन्वयगरी सेवाग्राहीलाई सेवा लिन उपस्थित हुनुपर्ने सम्पर्क बिन्दुहरूको संख्या घटाउने र गत असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम राष्ट्रिय परिचयपत्रसँगको सेवा आवद्धतालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्य गर्ने निर्णय गरेको छ ।
विभाग र अन्तर्गतका कार्यालयबाट सम्पादन भएका असल अभ्यासहरू एक आपसमा नियमित आदानप्रदान गर्नुका साथै यस्ता कार्यको सामाजिक संञ्जालमार्फत् प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले गरेका निर्णयहरू कार्यान्वयन प्रगति आगामी बैठकमा पेशगरी समीक्षा गरिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, ११ : ५०
लेखकबाट थप