कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

मंगलबार, २० कार्तिक २०७५, १७ : २३
कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

ललितपुर । प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताउनुभएको छ । 

आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकार स्थापना भएको छोटो समय भए पनि जनताको अपेक्षा धेरै भएको मख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई मत दिएर जिताएकाले हामीसँग आशा गर्नु स्वभाविक हो ।” 

सङ्घ र स्थानीय सरकारको सहयोग नभइ प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने मख्यमन्त्री पौडेलले बताउनुभयो । अहिले धेरै विषयमा समन्वय भएको छैन । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले प्राविधिक विद्यालय स्थापना, १५ श्याको अस्पताल स्थापना भनेपनि हामीसँग कुनै छलफल भएको छैन ।” 

प्रदेशसभा सदस्य अष्ठलक्ष्मी शाक्यले योजना समेटेर अवधारणापत्र बनाउन ढिलाइ गर्न नहुने बताउनुभयो । यहाँ भएका सम्भावनाका आधारमा यो प्रदेशले सबैलाई उछिन्न सक्नेछ भन्दै उहाँले देश विकास गर्नका लागि सत्तामा भएका मात्रै नभएर सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यतिका व्यवस्थान परिवर्तन गर्नसक्ने हामीले देश बनाउन सक्नुपर्छ ।” 

आयोगले बनाएको विज्ञ टोलीका समूह नेता डा पिताम्बर शर्माले यो प्रदेशमा कृषि र उद्योग दुबैमा सम्भावना रहेको बताउनुभयो । विज्ञ पूर्णचन्द्र भट्टराईले रसुवा जस्ता कम विकसित जिल्ला र काठमाडौँलगायतका जिल्लामा साक्षर जनसङ्ख्याको अनुपातमा धेरै अन्तर भएको बताउनुभयो । अर्का विज्ञ शोभा लामाले सामाजिक सुरक्षा सेवाग्राहीको एकीकृत अभिलेखको आवश्यकता औंलाउनुभयो । 

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षासँगै आगामी वर्षका लागि योजना तथा कार्यक्रम छनोटका विषयमा सो कार्यक्रममा छलफल भएको हो । प्रदेश नं– ३ को आवधिक योजना तर्जुमका लागि प्रदेशसभा सांसद, स्थानीय सरकार र विज्ञलगायतका बीचमा छलफल भएको थियो ।  (रासस) 
 

प्रतिक्रिया दिनुहोस