चितवन । तिहार उज्यालो पर्व हो । घरघरमा बिजुली बत्ती बालेर झिलिमिली पारिने चलन परापूर्वकालदेखि चल्दै आएको छ । तिहार लागेसँग विभिन्न किसिमका झिलिमिली बत्ती बल्न सुरू भइसकेको छ । तिहारको झिलिमिलीको लागि नेपालीले झन्डै ६० करोड खर्चने अनुमान गरिएको छ । नेपाल विद्युतु व्यवसायी संघ केन्द्रीय समितिले नेपालमा ६० करोडको झिलिमिली बत्ती आयत भएको र त्यतिकै हाराहारीमा विक्री हुने अनुमान गरेको छ ।
विद्युत् व्यवसायी संघ चितवनका अध्यक्ष शशीधर लामिछानेले तिहारको लागि चितवनमा मात्रै झन्डै डेढ करोडको झिलिमिली बत्ती (तिहारका झिल्लरीहरु) आयत भएको बताए । उनले भने, ‘९९ प्रतिशतभन्दा बढी तिहारका लाइटहरु चीनबाट आयात भएका छन् ।’ उनका अनुसार केही झिलिमिली बत्ती भारतबाट पनि आइरहेका छन् ।
अध्यक्ष लामिछानेले गत वर्षको तिहारमा चितवन जिल्लामा करिब डेढ करोडको हाराहारीमा झिलिमिली बत्ती आयात भएको बताए । उनले भने, ‘गत वर्षको तिहारको तुलनामा यस वर्ष व्यापार कम भएको छ ।’
तिहारको झिलिमिली बत्ती इलेक्ट्रिक पसलदेखि नारायणगढका सडकपेटीहरुमा समेत विक्रीको लागि राखिएको छ । विद्युत् व्यवसायी संघ चितवनका अनुसार ७० रुपैयाँदेखि दुई हजारसम्मका झिलिमिली बत्ती बजारमा आयात भएका छन् ।
विद्युत् व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष प्रजापति सापकोटाले गत वर्षको तुलनामा तिहारका झिलिमिली बत्तीको बिक्रीमा झन्डै २० प्रतिशतले कमी आएको बताए । उनले भने, ‘अहिले आएका तिहारको बत्तीहरुमा टिकाउ बढी छ, कमसल तिहारका झिलिमिली बत्ती निकै कम भित्रेका छन् ।
विद्युत् व्यवसायी संघले पछिल्लो समय सरकारले जुनसुकै सामानमा समान कर लगाएको हुनाले कमसल सामान देशमा नभित्रेको दाबी गरेको छ । संघका अनुसार समान कर सरकारले लगाउने भएपछि व्यवसायीले कमसल सामग्री भित्र्याएका छैनन् ।
‘पहिलेका तिहारे बत्तीहरु कमसल आउँथ्यो, किनेको वर्ष पछि टिक्न मुस्किल हुन्थ्यो, अहिले त्यस्ता बत्तीहरु आएका छैनन् । समान कर लगाउने भएपनि व्यवसायीले बलियो झिलिमिली ल्याएका छन्’ विद्युत् व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछानेले भने, ‘अहिलेका झिलिमिली बत्ती कम्तीमा ३ वर्ष टिक्ने खालका छन् ।’
विद्युत् व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष प्रजापति सापकोटाले पहिलाका झिलिमिली बत्तीभन्दा अहिलेको झिलिमिली बत्तीले कम बिजुली खपत गर्ने बताए । उनले भने, ‘अहिलेका झिलिमिली बत्ती लिडवाला छन्, यसले बिजुली अत्यन्तै कम खपत गर्दछ ।’
झिलिमिली बत्ती धेरै बालिने हुनाले तिहारको समयमा विद्युत् भार पनि अत्यधिक हुने गरेको छ । विद्युत् कार्यालय भरतपुरले तिहारमा विद्युत् भार बढी हुनाले अनावश्यक झिलिमिली बत्ती नबाल्न सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस