काठमाडौं। भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर त्यहाँको प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने र नेपाली विद्यर्थाीको सुरक्षा प्रत्याभूति गराउने जनाएको छ ।
भुवनेश्वर प्रहरी कार्यालयको कमिसनर कार्यालयबाट जारी विज्ञप्तिमा आरोपी छात्र अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको जनाएको छ ।
प्रहरीका अनुसार श्रीवास्तवको साथबाट इलेक्ट्रोनिक डिभाइस बरामद गरेर अनुसन्धान अघि बढाइएको छ । ‘श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हिरासतमा राखेर अनुसन्धान थालिसकेका छौं ।
प्रहरीले प्रकृतिको मोबाइल र ल्यापटपसँगै अन्य कागजात नियन्त्रणमा लिएको जनाएको छ । केआईआईटीका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई विश्वविद्यालयले सेवाबाट बर्खास्त गरिसकेको छ ।
केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कालिङ्गा इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।
यता, आइतबार भएको घटनाप्रति दु:ख व्यक्त गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १५ : ०९
लेखकबाट थप