सरकार बिस्तारै एमालेकरण हुँदैछ : शेखर कोइराला

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०८१, १३ : १९
सरकार बिस्तारै एमालेकरण हुँदैछ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताए । मङ्गलबार काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरेका हुन् ।

उनले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए । बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ । सांसद कोइरालाले सरकारमा नरहेको बताएपनि अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ ।

संयन्त्रले सरकार चलाउने कुरा कम्युनिस्टहरू र साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए । 

 

उनले भने, ‘कता कता मलाई चिन्ता लागेको छ । हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ । हामी प्रतिस्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै हुनसक्छ । साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ ।’

कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको उनको आरोप थियो ।

उनले भने, ‘ यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सुशासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठुला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ । राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो । तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसद्लाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्ने कुरा पछिको कुरा हो । संसद् बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जवाफ दिनुपर्छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ । महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको कोइरालाको भनाई थियो । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनले बताए । उनले कुनै पनि हालतमा सरकारले संसद्मा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरूसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए ।

सांसद कोइरालाले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ । यो विधेयक भर्खर संसद्मा गएको छ । छलफल हुन त बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन । कुनै पनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरूसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस