टी–२० क्रिकेट

नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, १५ : १७
नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटको हार चखायो ।

नेपालले पहिले ब्याटिङ गर्दै १४५ रनको बलियो स्कोर खडा गरेको थियो, तर यो पर्याप्त भएन । बलिङ फिल्डिङ गतिलो नहुँदा नेपाललाई फेरि पनि पराजय हात लागेको छ ।नेपाल उपाधि होडबाट आउट भएपनि वान डे राष्ट्रविरुद्ध पहिलो जितका लागि आतुर थियो । तर, नेदरल्यान्ड्सका ओपनर जोडी स्टेरी कालिस र फेबे मोल्केनबोरले नेपाललाई निराश बनाए ।

कालीसले अविजित ९८ रन जोड्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याइन् । उनले ६९ बलको सामना गर्दा ११ चौका र २ चौका प्रहार गरेकी थिइन् । माल्केनबोरले ४९ बलमा ४ चौकासहित ४८ रन जोडिन् । दुई बल बाँकी छँदा नेदरल्यान्ड्सले लक्ष्य भेट्याएको थियो ।

नेपालका कुनै पनि बलरले नेदरल्यान्ड्सका ब्याटरलाई समस्यामा पार्न सकेनन् । ब्याटिङका लागि अनुकुल पिचमा नेदरल्यान्ड्सका दुवै ओपनरले निर्धक्कसँग लक्ष्य पछ्याए । उत्तराद्र्धमा सिता रानामगरले एउटा विकेटको अवसर निकालेकी थिइन्, तर विकेटकिपिङ चुस्त नहुँदा खेर गयो ।

नेपालकी कप्तान इन्दु बर्माले आज पनि ७ जना बलर प्रयोग गरिन् । तर, कसैले पनि विकेट निकाल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस