स्वर्गद्धारी गुठी पीडित मोही किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १३ : १८
स्वर्गद्धारी गुठी पीडित मोही किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं । दाङ देउखुरीबाट आएका स्वर्गद्धारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आजदेखि काठमाडौंको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।

२०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाई नभएको भन्दै  उनीहरु कृषि औजारसहित काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग छ ।

किसानले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौताभएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरुको भनाइ छ । पटक पटक उच्च राजनीतिक शीर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्यमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू र सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनाएपनि बाचा पूरा नभएको भन्दै उनीहरुले तीन बुँदे माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ। कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ ।किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्धारी गुठीको नाममा रहेको छ । पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।

जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरुले स्वामित्व नपाउँदा अन्यायमा परेको उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस