उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०८१, १३ : २८
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने उल्लेख गरे ।

‘पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ’, सभापति देउवाले भने, ‘व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ, थोरै लगानीमै ‘स्टार्ट अप’ व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।

योसँगै बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधिजस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संशाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिए । 

 

 

 

 

 

 

 

‘यहाँ हुने विभिन्न नवीनतम उत्पादन, सेवाहरूको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्नेछ, बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ’, सभापति देउवाले भने, ‘नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनसमेत टेवा पुग्ने मेरो विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस