पर्यटन प्रवर्द्धनका लागि पोखरामा पुस १३ गतेदेखि सडक महोत्सव हुने

सफल खबर संवाददाता

बुधबार, ०३ पुस २०८१, १४ : ३२
पर्यटन प्रवर्द्धनका लागि पोखरामा पुस १३ गतेदेखि सडक महोत्सव हुने

काठमाडौं। आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो ।

पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्‍याउन पनि मद्दत पुगेको उनको भनाइ छ । अध्यक्ष विष्टले विभिन्न नेपाली खाना, जातीय वेषभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखराको लेक साइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदैछ । कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचारप्रसार तथा ब्रान्डिङ गराउने एउटै थलोका रुपमा पोखरा सडक महोत्सवलाई लिइन्छ । महोत्सवले पर्यटक आकर्षण गर्नुका साथै लोपोन्मुख सामग्रीको संरक्षण गर्न ‘प्लेटफर्म’ पनि दिँदै आएको ।

समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टराईले बताए ।

'पोखरामा महोत्सव आयोजना गर्नुअघि अङ्ग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेशी जाने चलन थियो, नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे,' उनले भने, 'तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपाली पर्यटनलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको छ, महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।'

प्रतिक्रिया दिनुहोस