अख्तियारद्वारा राहदानी विभागमा छापा

सफल खबर संवाददाता

सोमबार, ०१ पुस २०८१, ११ : १०
अख्तियारद्वारा राहदानी विभागमा छापा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा छापा मारेको छ। सर्भर ह्याक तथा ई–पासपोर्टको छपाइका लागि भएका कमजोरीमा देखिएको अनियमितताको विषयमा अख्तियारले विभागमा छापा मारी त्यससँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतको अनुसार गत बिहीबार विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

यो समाचार नागरिक दैनिकमा छ, अख्तियारले ई–पासपोर्टको छपाइका लागि हुने करिब १२ अर्बको टेन्डरमा चासो देखाउँदै तीसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको हो। साथै यसअघि राहदानी विभागले २० लाख ई–पासपोर्ट छपाइका लागि छनोट गरेको आइडिमिया कम्पनीसँग पटक–पटक गरी ३१ लाख विद्युतीय राहदानी भेरिएसनबाट लिँदा आर्थिक हिनामिना गरेको विषयमा अनुसन्धान गर्न पनि सबै कागजात नियन्त्रणमा लिएको हो।

राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको समाचार बाहिरिएपछि अख्तियारले यसलाई चासोका साथ हेरेको थियो।

एक सातादेखि प्राविधिक समस्या खडा गर्ने ह्याकरको सूचना प्रवाह गर्ने, भाइरस पस्यो भन्ने तर टेन्डरको सूचना निस्कनु दुई दिनअघि समस्या सुल्झाउने दिशमा लाग्ने कार्य शंकास्पद रहेको समाचार बाहिर आएको थियो। साथै विभागले औपचारिक रूपमा साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि केन्द्र दुवैलाई दिएको थिएन, अनौपचारिक रूपमा सहयोग मागे पनि साइबर हमला भएको हो कि होइन भन्ने यकिनका साथ भन्न सकेको छैन। नेपाल प्रहरीको साइबर ब्युरोलाई त यो विषयमा झन् जानकारी नै दिइएको थिएन।

पछिल्लो डेढ दशकदेखि नेपालको राहदानी छपाइमा र सफ्टवेयर व्यवस्थापनका एकछत्र राज गर्दै आएको आइडिमियाले नयाँ टेन्डर पनि लिन अनेक तिकडम गरेको समाचार प्रकाशन भएसँगै अख्तियार सक्रिय भएको थियो।

यसअघि नै टेन्डरभन्दा पनि भेरियसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउन सिस्टममा नै समस्या देखाएर अनुकूल प्रभाव पारेको थियो।

विभागले मंसिर १३ मा दुईवटा टेन्डर निकालेको थियो, जसमा ९ नम्बर बुँदामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवदेन दिए त्यसलाई स्वीकार गर्न सकिने बुँदा राखिएको छ।

यो बुँदाले सफ्टवेर व्यवस्थापनको काम गरिरहेको कम्पनी आइमियालाई मात्रै समेट्नेछ। सोही कम्पनीलाई समेट्ने गरी टेन्डर निकालेपछि मात्रै राहदानी सिस्टममा आएको समस्या सुल्झन थालेको थियो।

प्रतिक्रिया दिनुहोस