काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठकले प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री चीन भ्रमणमा जान लागेको जानकारी दिए ।
‘दुई दिन अगाडि (अस्ति) नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ परराष्ट्र मन्त्रीलाई भेट्न आउनुभएको थियो । प्रधानमन्त्रीको भ्रमणको तयारीको सिलसिलामा जानुपर्ने हुनसक्छ तयारी गर्नुहोला भन्नुभएको छ,’ पाठकले भने, ‘ठ्याक्कै यो दिन भनेर पक्का भएको छैन । तर नोभेम्बरको अन्तिमतिर निम्तो पठाउँछौं भन्नुभएको हो । जाने पक्का भयो, समय निर्धारण हुन बाँकी छ ।’
प्रधानमन्त्री ओली मंसिरको तेस्रो साता चीनको राजकीय भ्रमणमा जाँदै छन् । त्यसको तयारी गर्न कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित ८ सदस्यीय संयन्त्रले परराष्ट्र मन्त्री राणालाई आवश्यक संयोजन गर्न निर्देशन दिएको थियो ।
यसअगाडि प्रधानमन्त्रीको भ्रमणअघि चीनले नेपालका परराष्ट्र मन्त्रीलाई चीनले धेरै बोलाउने गरेको थिएन । तर यसपटक भने चीनले आरजुलाई बोलाएर प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न लागेको हो ।
संयन्त्रले सहजीकरण गर्न निर्देशन दिने र चिनियाँ राजदूतले पनि भ्रमणको लागि तयार गर्न भनेपछि आरजुले मन्त्रालयमा भ्रमणको तयारी अगाडि बढाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, ११ : ०८
लेखकबाट थप