भैरहवा । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको छ । भोलि (मंगलबा) देखि दैनिक रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको हो ।
कतार एअरवेजले भोलिदेखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण गरेपछि भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँ उड्ने र सोही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् ।
भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, ११ : ५२
लेखकबाट थप