सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: सांसद बस्नेत

विहीबार, ०१ कार्तिक २०७५, १६ : ०४
सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: सांसद बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न जरुरी नरहेकाे बताएका छन् । सरकारका बारेमा बरु समीक्षा गर्ने समय भएको उनले बताए । उनले राष्ट्र र राष्ट्रियताको पक्षमा वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै भने, “मुलुकको सार्वभौमिक अखण्डतामाथि नै चुनौती दिने गरेर एकातिर सिके राउतका गतिविधि र अर्कोतर्फ आतकङ्वादलाई नै समर्थन गर्ने ढङ्गले विप्लव समूहको गतिविधि भएका छन् । त्यस्ता अराजक प्रवृत्तिका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दा राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाइफिराइ त्यसलाई समर्थन गर्ने न्यायालयको व्यवहार चाहिँ आज समीक्षाको विषय बनेको छ ।”

यहाँ बुधबार आयोजित साक्षात्कारमा सांसद बस्नेतले सरकार सञ्चालन भएको तथा सङ्घीयता कार्यान्वयन भएको सात महिना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको बताए ।

सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै उनले वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको दाबी गरे । करबारेको हल्ला बढी, वास्तविकता कम भएको बताउँदै स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको समेत उनकाे भनाइ थियाे ।

सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने बताए । उनले भने, “कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ भने ४५ प्रतिशतको जिम्मा अरु सबैले लिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस