ग्रिजम्यानको गोलले फ्रान्स विजयी, ब्राजिलले अर्जेन्टिनालाई हरायो

बुधबार, ३१ असोज २०७५, ११ : ५१
ग्रिजम्यानको गोलले फ्रान्स विजयी, ब्राजिलले अर्जेन्टिनालाई हरायो

काठमाडौं : विश्व विजेता फ्रान्सले युएफा नेसन्स कप फुटबलमा जर्मनीलाई पराजित गरेको छ । गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले दुवै गोल गरे । जर्मनीका टोनी क्रुसले एक गोल गरे । पहिलो हाफमा १–०  ले अग्रता लिएको जर्मनी अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।

खेलको १४ औं मिनेटमा क्रुसले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ८० औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए । जितसँगै फ्रान्सले लिग ‘ए’ समूह एकबाट प्ले अफमा स्थान पक्का गरेको छ ।

यता, जर्मनी भने रेलिगेसनमा परेको छ । रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनीको यो लगातार खराब प्रदर्शन हो । फ्रान्सले ३ खेलबाट २ जितसहित ७ अंक जोडेको छ ।

जर्मनीले ३ खेलबाट १ अंक जोडेको छ । यस समूहमा ३ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस