स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित

मंगलबार, ३० असोज २०७५, १३ : ४१
स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित

सेभिल (एजेन्सी)। यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३-२ ले पराजित गरेको छ । पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३-० को अग्रता लिएको थियो ।

रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको गोलको खडेरी अन्त्य गरे । २९ औं मिनेटमा मार्कस रासफोर्डले अग्रता दोब्बर पारे । त्यसको ९ मिनेटपछि स्टरलिङले पुन गोल गर्दै ३-० ले अगाडी बढाए । पछिल्ला दुवै गोलमा कप्तान ह्यारी केनले असिस्ट दिएका थिए ।

पहिलो हाफमा इंग्ल्यान्डको पूर्ण दबाबमा पारेको स्पेनले दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलले एक घण्टा समय छुन लाग्दा पाको अल्कासेरले गोल गर्दै गोलअन्तर घटाए । त्यसपछि स्पेनको एक प्रहार पोस्टमा लागेर फर्कियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्जियो रामोसले एक गोल फर्काए ।

इंग्ल्यान्डले सन् १९८७ पछि स्पेनको मैदानमा खेल जितेको हो । त्यसबेला इंग्लिस टोली ४-२ ले विजयी रहेको थियो । यता स्पेनले भने सन् २००३ यता घरेलु मैदानमा पहिलोपटक पराजय बेहोरेको हो । यसबिचमा स्पेन ३८ खेलमा अपराजित रहयो । स्पेनले घरेलु मैदानमा तीन वा बढी गोल खाएको पनि यो नै पहिलो अवसर हो ।

इंग्ल्यान्डले अब अर्को महिना हुने मैत्रीपूर्ण खेलमा संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ । खेल वेम्बली रंगशालामा १५ नोभेम्बरमा हुनेछ । स्पेनले पनि सोहि दिन बोस्नियालाई अतिथ्यता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस