कञ्चनपुर । वरिपरि दशैँको रौनक छाएको छ, तर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी निर्मला पन्तकी आमा दुर्गा पन्तको घरमा सन्नाटा छाएको छ । न्याय पाउने आशमा बसेकी दुर्गालाई पछिल्लो समय न्याय मर्दै गएको अनुभूति भएको छ ।
साउन १० गते दुर्गाकी माहिली छोरी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको हो, तर यो सरकार हत्यारासम्म अझै पुग्न सकेको छैन ।
छोरी निर्मला भएदिएको भए यतिबेला दुर्गा निर्मलासँग सल्लाह माग्दै दसैँको चाँजोपाँजो मिलाउँदै हुन्थिन् होला । तर फूलजस्ती निर्मलालाई अपराधी लुछ्नसम्म लुछे । साससमेत बाँकी राखेनन् । दुर्गाकी माहिली छोरी निर्मला । घरव्यवहार सबै चलाउने । आमालाई हरबखत सघाउने । लगनशील मिहिनेती छोरीलाई अपराधीलाई मुनामा टिपे ।
छिमेकमा घर लिपपोत चलेको छ । दसैँको लागि चहलपहल भइसकेको छ । सहर वा विदेश भासिएकाहरु घर आइरहेका छन् । ती चहलपहल दुर्गालाई असाध्यै फिक्का लागेको छ । दिनरात छोरी निर्मलालाई सम्झिदै आँसु बगाइरहेकी छन् दुर्गा ।
दुर्गाको आर्थिक अवस्था निकै कमजोर छ । तीन छोरीलाई उनैले पढाइलेखाइ गर्थिन् । श्रीमान् अर्कै श्रीमतीसँग बसेको थुप्रै वर्ष भएसकेको छ । घरमा चटपटे पसल थियो दुर्गाको । चटपटे पसलमा सघाउँथिन् निर्मला । निर्मलाको हत्यासँगै चटपटे पसल बन्द छ । त्यही चटपट पसलको पैसा लिन जाँदा अपराधीको पञ्जामा परिन् निर्मला । अपराधीको पञ्जाबाट उम्कन कति कराइन् होलिन् निर्मला तर त्यो चित्कार अपराधीले हावामा उडादियो ।
उनको हत्यारालाई समाउन प्रहरी पटकपटक चुक्यो । अपराधीलाई बचाउन भएका प्रमाणहरु नष्ट गर्न प्रहरी आफैँ लाग्यो । निर्दोषलाई फसाउन प्रपञ्चसमेत रच्यो । आज निर्मला त गई, अब फर्केर आउँदिनन् उनी, तर अपराधी खुलेआम यही समाजमा हिँडिरहेक छन् । नेपाल प्रहरी अपराधीसम्म पुग्न सकेकै छैन । भन्छ, अपराधीलाई ढिलोचाँडो पक्राउ गरिन्छ ।
आमाको मन हो, छोराछोरीमाथि कति मायाभाव हुन्छ, शव्दमा बयान गर्नै सकिदैन । आज घरवरिपरि दुर्गा छोरी निर्मलाको छाँया देखिरहन्छिन् । रातमा बर्बराउँदै निर्मला भन्दै बोलाउँछिन् । अनि भन्छिन् होला, ‘मेरी छोरी निर्मलालाई लुछ्ने ए अपराधी ! तैले जीवनभर निर्मलाको भन्दा बढी दुःख पाउँछस् । कानुनको कठघराबाट उम्के पनि तलाई निर्मलाले परिवारको आँसु लाग्नेछ ।’
निर्मलाको परिवारको पीडालाई वर्णन गर्ने शव्द छैन, एकातिर छोरीलाई लुछीलुछी समाप्त पार्नु, अर्कोतिर पीडित परिवारले न्याय नपाउनु । कस्तो बिडम्बना छ, वास्तवमा केले सरापेको देश हो नेपाल भनिन्छ, कहिलकाहीँ त लाग्छ हो कि जस्तो !
‘न्याय पाउने आशा तुहिँदै गएको अनुभूति भएको छ, भारी गला अवरुद्ध भएको श्वरमा दुर्गाले भनिन्, ‘मेरोजस्तो पीडा कुनै आमाले भोग्न नपरोस्, निर्मलाजस्ती छोरी कुनै आमाले गुमाउन नपरोस् ।’
यस वर्षको दसैँ निर्मला परिवारको लागि महादशा बन्यो । तीन छोरीमध्ये निर्मला टेक्ने लौरी थिइन् परिवारको लागि । पढाइदेखि घरको कामकाज क्षणभरमा सक्थिन् । स्कुलको होमवर्कदेखि चटपटे पसलसम्मका काम भ्याउँथिन् । वास्तवमा आमा दुर्गाको अभिभावक थिइन् निर्मला । तर आज निर्मलाको अभावमा उनी दिनरात मुर्छित भएकी छन् । उनलाई न्याए नदिने हुन् कि भन्ने पिरलोले गालेको छ । कक्षा ९ की आज्ञाकारी छात्रा थिइन् निर्मला । आज निर्मलासँग हाँसखेल गरेका दिनहरु दुर्गालाई हिजोजस्तो लाग्छ, तर अब सान्त्वना लिँदै निर्मललाई न्यायका लागि अनवरत रुपमा लड्नुको विकल्प छैन दुर्गासँग ।
दुर्गा निर्मलाले न्याए नपाएसम्म लडिरहने अठोट गरेकी छन् । भन्छिन्, अरु कुनै कारणले मृत्यु भएको भए सान्त्वना लिने ठाउँ हुन्थ्यो होला, अपराधीको हातबाट मर्नुपर्दा सबैभन्दा बढी दुःख लागेको छ ।’
उनी छोरीको आत्माले शान्ति पाउने गरी हत्यारा दण्डित भएको हेर्नुमात्र आफ्नो इच्छा रहेको बताउँछिन् । ‘न्याय पाएको भए पनि चित्त बुझाउने बाटो रहन्थ्यो, तर न्याय नपाउँदा दिनरात रोएर बस्नुपरेको छ’ भन्छिन्, ‘अपराधीलाई जोगाउन ठूलै चलखेल भयो, पुनः अनुसन्धान गर्नुपर्छ ।’ अहिले उनलाई एउटै कुराले सताएको छ, त्यो हो न्याय ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०७५, १३ : ४१
लेखकबाट थप