दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, ०८ : ३८
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

काठमाडौ । दशै, तिहार जस्ता ठुला चाडबाड नजिकिइरहेका छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यति बेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। 

नेपालीहरू विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। 

प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटकहरू पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्य स्थल नेपालमा छन्।

बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्य स्थलको पदयात्रामा निस्कन्छन् । तपाईँ पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्य स्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्त र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ। 

खर्चको जोहो
तपाईँ कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनु सक्छ । पर्यटकीय क्षेत्रको सेवा सुविधा यसै पनि महँगो हुन्छ। 

अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँ बस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ। 

गन्तव्य स्थलको पूर्वअध्ययन
आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटेल, रेस्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्य स्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रूपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ। 

बन्दोबस्त
याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन। झोलामा राख्नुपर्ने महत्त्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लट्ठीलगायत सामग्री पदयात्राका लागि नभई हुँदैन। 

हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्रान्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ। 

गोल्ड स्टारलगायत नेपाली ब्रान्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पन्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ। 

प्रतिक्रिया दिनुहोस