महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, ०८ : ०१
महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

महोत्तरी । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताए । 

परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताए।

बडादसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

भूतप्रेतले सताइएका भनिएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झाले बताए । 

विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा माताका पुजारी घनश्यामले बताए । 

माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत नलाग्ने विश्वास यहाँका जनताको छ ।

प्रतिक्रिया दिनुहोस