सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १८ : २३
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए । गृह मन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । 

उनीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन् । मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनः निर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए । 

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृह मन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए । 

सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । यस पटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ ।

प्रतिक्रिया दिनुहोस