न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर बारको प्रदर्शन, न्यायाधीश सिफारिशमा चलखेल रोक्न माग

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १३ : ४४
न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर बारको प्रदर्शन, न्यायाधीश सिफारिशमा चलखेल रोक्न माग

काठमाडौं। सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिश गर्न अहिले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद्‌ बैठक बसिरहेको छ । सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेको छ ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको हो । न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो ।असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

 

 

 

 

 

 

 

अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिश गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् । न्यायाधीश सिफारिशका लागि प्रधानन्यायाधीशले अतिरिक्त जोडबल गर्नुका पछाडि उनको कुनै स्वार्थ लुकेको हुन सक्ने घिमिरेको आरोप छ ।

 

न्यायपरिषद्‌ले चलखेल र भागबन्डागरी सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्ति गर्न लागेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस