वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १२ : ०३
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अस्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका–१ नयाँ गाउँ घर भई काठमाडौँ नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका–७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।

पक्राउ पर्नेमध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रुपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रुपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौँ थानकोटबाट, शोभालाई काठमाडौँ स्युचाटारबाट र अमृतलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस