पुरानो मेडिकल कलेजको विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, ११ : ४७
पुरानो मेडिकल कलेजको विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु भएको छ । दुई अस्पतालबीच यस सम्बन्धी सम्झौता भएको हो ।पुरानो मेडिकल कलेजका उपनिर्देशक प्रा.डा.राजेशकुमार यादव र देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विद्या भुसालले यस सम्बन्धी सम्झौता गरेका हुन ।

सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो आईतबार पुरानो मेडिकल कलेजका अर्थोपेडिक्स विभागका विशेषज्ञ डाक्टरले देवचुली अस्पतालबाट सेवा दिनेछन्। यसैगरी हरेक हप्ता बुधबार नाक–कान–घाटी र छाला तथा यौनरोग विशेषज्ञले सेवा प्रदान गर्नेछन्।आवश्यकता अनुसार समय समयमा निःशुल्क स्वास्थ्य शिविरका लागि प्राविधिक सहयोग समेत पुरानो मेडिकल कलेजले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा बहिरंग सेवा प्रदान गर्नका लागि आवश्यक कोठा वा भवन, फर्निचर र आधारभूत उपकरण देवचुली अस्पतालले व्यवस्था गर्नुपर्ने छ । सेवा प्रदान गर्दा प्रेषित औषधि तथा जाँचहरु देवचुली अस्पतालले व्यवस्था गर्नु पर्ने सम्झौता भएको हो । देवचुली अस्पतालमा सम्भव नहुने उपचारका लागि माथिल्लो निकायमा रिफर गरिने जनाईएको छ ।पुरानो मेडिकल कलेजका उपनिर्देशक प्रा डा यादवले आवश्यकता अनुसार सेवा थप गर्दै लैजाने बताए।

प्रतिक्रिया दिनुहोस