इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १४ : ०५
इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले समस्याको समाधानको लागि पहल गर्ने बताएका छन् । उनले फराकिलो, सहनशील र न्यायोचित मनका साथ सम्वाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका हुन् ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो (शनिबार) आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गरेका हुन् ।

उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको बताए । ती समस्याको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको उनले स्मरण गराए । ओलीले भने,‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।’

भारत लामो संस्कृति भएको छिमेकी मित्र भएकाले हामीले खुल्ला खुलस्तरूपमा छिमेकीसँग कुरा गर्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री ओलीले खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्र्न नमिल्ने पनि बताए । उनले भने,‘सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन् ।’

प्रतिक्रिया दिनुहोस