ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १५ : ४६
ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । ओलम्पिकमा नेपाल सहभागितामा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई ओलम्पिकमा नजम्न भनेर कुनै श्राप नपरेको जिकिर गरेका हुन् ।

आइतबार राजधानीमा आयोजित नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले खेलका विभिन्न विधामा उत्कृष्ट खेल, प्रतिस्पर्धी खेल र जित्ने गरी खेल विकास गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न जरुरी रहेको उनको भनाई थियो ।

उनले भने, ‘खेल प्रतिस्पर्धा पनि हो । खेलमा उत्कृष्टतामा आवश्यक हुन्छ । यसका लागि सुगठन, सन्तुलन, तीव्रता र समन्वय आवश्यक छ । अनि निरन्तर अभ्यास आवश्यक हुन्छ । यसरी उत्कृष्टता हासिल गरेर नेपालको इज्जत राख्ने खेलाडीहरू जन्माउनुपर्छ ।’ 

‘स्वर्ण पदक हामीले प्राप्त नगर्ने भन्ने के छ र ? मलाई लाग्छ, हामीले रग्बी नखेले पनि हुन्छ । यहीँ नेपाली नेपाली बिचमा त खेलौँला । अन्तर्राष्ट्रिय रग्बीमा गएर किचिपिची हुनु त्यति गतिलो काम होला जस्तो मलाई लाग्दैन । यो मेरो विचार मात्र हो,’ उनले थपे, ‘हाम्रा खेल्ने खेलहरू फुटबल, भलिबललगायत खेलहरूमा बढी जोड दिनुपर्छ । ओलम्पिकमा हामी सहभागी मात्र भइरहेका छौँ । ओलम्पिकमा हामीले जमाउन पाएका छैनौँ । ओलम्पिकमा नजमाउनु नेपाल भनेर कुनै श्राप परेको छैन । जमाउन सकिन्छ । केही पनि रोक्दैन ।’ 

उनले खेललाई जीवनशैलीको रूपमा विकास गर्ने कुराको नेतृत्व लिन राष्ट्रिय खेलकुद महासंघलाई निर्देशन दिए । खेलाडीको मात्र नभएर समग्र खेलकुदकै विकास गर्नु जरुरी रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘खेल मनोरञ्जन पनि हो जसले मानसिक स्वास्थ्यलाई सुदृढ राख्छ । व्यायाम पनि हो जसले शारीरिक स्वास्थ्यलाई राम्रो राख्छ । सबै उमेर समूह र सबै पेसा व्यवसायका लागि अलिकति समय खेल अनिवार्य गर्नुपर्छ, व्यायाम अनिवार्य गर्नुपर्छ,’ उनले भने ।

बौद्धिक श्रम गर्नेका लागि शारीरिक व्यायाम अति आवश्यक रहेको विषयमा उनले जोड दिए । ‘स्वस्थ रहनका लागि तीन कुराको सन्तुलन आवश्यक छ– खाना, काम र आराम । जीवनका लागि गति चाहिन्छ, नत्र जीवन कुँजो हुन्छ । यसका लागि व्यायाम चाहिन्छ । यो कुरा सबै उमेर समूह र पेसा व्यवसायमा पुर्‍याउनुपर्छ । खेल खेलाडीले मात्र खेल्ने होइन, सबैका लागि आवश्यक छ । खेलको व्यापकीकरण र सामाजिकीकरण आवश्यक छ,’ ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस