- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका ११ बसेनी बजारमा अवस्थित एक घरको छतमा लटरम्म तरकारी फलेको छ । त्यस घरका मुली हुन ६० वर्षीया श्रीभक्त श्रेष्ठ ।
वि.सं. २०३८ सालदेखि २०६९ सालसम्म बसको चालक बनेका उनले त्यस अवसरमा कृषकहरुलाई थुप्रै कृषि अनुसन्धान केन्द्रहरु घुमाउन लगे । त्यस क्रममा उनले पनि कृषकहरुसँगै कृषि बालीको अवलोकन र कृषिसम्बन्धी विभिन्न जाकारीहरु लिने मौका पाए । चालक हुँदा देशका विभिन्न कृषि बाली अनुसन्धान केन्द्रमा कृषकहरुसँगै कृषि विधिहरु सिकेका उनले त्यही भ्रमणको अनुभवले अहिले चालक पेसा छाडेपछि आफनो घरको छतमाथि तरकारी खेती गर्न थालेका छन् ।
घरको छतमाथि फलेको तरकारी झालहरु टाडैबाट देखिन्छ । १० वटा कवाडी फ्रिजका बाकस, ८ वटा प्लाष्टिकका बाल्टी, ४ वटा बोरा, वासिङ्ग मेसिनको बाकस, सिङगो ड्रममा माटो भरेर श्रीभक्तले घरको कौशीमा लटरम्म तरकारी फलाएका छन् ।
घिरौँला, करेला, काँक्रा, लौका, बोडी, फर्सी, खुर्सानी, कागतीलगायतका तरकारीहरु छतभरि फलेका छन् । बाँसको झिँक्रामा लहरे तरकारीहरु फलिरहेका छन् । त्यतिमात्र होइन श्रीभक्तले थोरै बाँकी रहेको जमिनमा तलबाट तरुल रोपेर त्यसको झाल छतसम्म ल्याएका छ ।
उनले छतबाटै कफिका स्वाद पाउँछन् । उनले छतमा कफि फलेको कफि देख्दा उनका छिमेकीहरु पनि दंग छन् । उनले पहाडबाट कोइरालोको विरुवा ल्याएर रोपेका छन् । पहाडी क्षेत्रमा पाइने कोइरालो परीक्षणको लागि ल्याएको उनले बताए । घिरौलाको झालले माटोभन्दा बाहिर थाँक्रामा जरा हाल्न थालेपछि त्यस जरालाई सानो डिब्बामा हालेर उक्त डिब्बा थाँक्रामा समेत झुन्ड्याएर उनले रहरलाग्दा घिरौलाहरु फलाएका छन् । छतसम्म पुग्ने गरी सिंचाइको सुविधा उनले मिलाएका छन् ।
उनको तीन तलाको घरको छतमा फलाएको तरकारी देख्दा जोकोहीलाई लाग्छ, परिश्रमको फल मिठो हुन्छ ।
‘एक वर्ष टनेल बनाएर तरकारी लगाएको थिएँ त्यो वर्ष कीराहरु खासै लागेका थिएनन् । यो वर्ष टनेल नबनाउँदा कीराहरुहरुको आक्रमण बढेको छ’ उनले भने, ‘टनेल बनाएर छतमाथि तरकारी खेती गर्ने हो भने एउटा परिवारलाई पुग्छ, बजारमा किन्न जानै पर्दैन । उनले छतमा तरकारी खेती गर्ने योजना बनाएर नै घर बनाउनुभन्दा आगाडि नै जगको माटो राखेको बताए ।
उनले माटोलाई नरम र मलिलो बनाउन गड्यौला हालेका छन् । उनले भान्साबाट निस्केका फोहर, बोट विरुवाका लहरा र पातपतिङ्गरलाई कुहाएर प्राङ्गरिक मल बनाएर तरकारी फलाएका छन् । उनको छिमेकमा कतिको खाली जग्गासमेत बाँझै बसेको छ, तर उनको छतसमेत खाली छैन । पहाडदेखि तराईका तरकारी झालभरि झुलेका छन् ।
छतमा तरकारी खेती गरेर उनले भान्सामा कहिल्यै तरकारीको अपुग हुन दिएका छैनन् । उनले विक्री गर्न पुग्ने गरी तरकारी उत्पादन गरेको भए पनि उनले छरछिमेक र आफन्तहरुलाई पठाउने गरेका छन् । उनले भने, ‘चौक चौतारीहरुमा पुगेर गफ गरेर समय बिताउने, अनि बजारबाट भारी तरकारी किनेर ल्याउने हाम्रो समाजको प्रचलन चिर्न जरुरी छ ।’
उनका अनुसार छत बाँझो राख्ने, करेसाबारी त्यसै छोड्ने अनि तरकारी किनेर खाने सहरिया प्रचलन हो, मिहिनेत गरे छतमा सबथोक फलाउन सकिन्छ । बजारबाट तरकारी किन्न नपरेकोले उनको मासिक ५ हजारभन्दा बढी रकम जोगिएको अनुमान छ । श्रेष्ठले बुढेसकालमा तरकारी खेती गरेर समयको सदुपयोग मात्र गरेका छैनन्, आफनो शरीरलाई निरोगीसमेत राखेका छन् । ‘बिहान उठेर बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र झारपात केलाउने गर्दा शरीरलाई चाहिने व्यायम प्रशस्त पुगेको छ’ उनले भने । मान्छेभित्र इच्छा शक्ति र मिहिनेत गर्ने जाँगर भयो भने जग्गा नभए पनि तरकारी खानको लागि छतले नै पूर्ति गर्ने उनको धारणा छ । सबैले आ–आफनो छतमा तरकारी खेती गरे ताजा तरकारी खान पाउनुको साथै गाउँ, शहर पनि हरियाली हुने उनको भनाइ थियो । छतमा हरियाली भएकै कारण आफनो घर कहिल्यैै पनि नतातेको र शीतल हुने गरेको उनले बताए ।
खेती गर्दा परम्परागत तरिकालाई त्यागेर आधुनिक तरिकाबाट गर्न सके राम्रो उत्पादन गर्न सकिने उनको भनाइ थियो । सरकारी कृषि विज्ञहरुले माटोको परीक्षण गरी, कुन माटोमा के कुराको कमी छ भनेर जानकारी लिएर तरकारी फलाए अझ राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘हचुवाको भरमा रासायनिक मल प्रयोग गर्दा यहाँको माटो नै विग्रिसक्यो, रासायनिक मलविना त अब केही फल्नै छोड्यो त्यसैले सरकारले सबै ठाउँको माटोको परीक्षण गरी कुन माटोमा कुन मल कति हाल्न आवश्यक छ भनी कृषकहरुलाई जानकारी गराउनुपर्छ । अनिमात्र देशले कृषि क्षेत्रमा अतुलनीय फड्को मार्न सक्छ ।’
सवारी चालक हुँदा गरेको कृषि भ्रमणको अनुभवले छतमा तरकारी फलाउने श्रेष्ठबाट सबैले पाठ सिक्न आवश्यक छ । घरमा तरकारी खानको लागि जग्गा नै चाहिन्छ भन्ने छैन भन्ने कुरालाई उनले पुष्टि गरेका छन् । श्रेष्ठले जस्तै गरी सबैले छतमा तरकारी फलाउन सके बाहिर देशबाट आयात तरकारीहरु रोकिने थियो ।जसले गर्दा देशको अर्थतन्त्र पनि बलियो हुने थियो । सबैको घरको छतमा हरियाली हुँदा गाऊँ, शहरको सुन्दरता बढ्नुका साथै वातारण पनि स्वच्छ हुने थियो ।
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
आइतबार, २१ माघ २०७४, १३ : ००
लेखकबाट थप