प्रथम ‘तिलोत्तमा श्री’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, १६ : २८
प्रथम ‘तिलोत्तमा श्री’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका तथा खेलकुद विकास समितिले आउँदो महिना जिल्लास्तरीय ‘तिलोत्तमा श्री’ शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ । भदौ १५ गते हुने प्रतियोगितामा तिलोत्तमा ड्राइभरटोलस्थित होटल टुलिपमा हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फ पाँचवटा वजन समूहमा र महिलातर्फ एउटा खुला समूह रहने छ । शारीरिक सुगठनका क्षेत्रमा खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले नगरले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगितालाई सफल बनाउन आफूहरू लागिपरेको बताए । पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा बढी तौल समूह हुनेछन् । तौल समूहबाट विजेता बनेपछि मात्र फाइलमा प्रतिस्पर्धा हुनेछ । तौल समूहमा प्रथम हुने खेलाडीलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार पुरस्कार र मेडल प्रदान गरिने खेल संयोजक मनबहादुर रानाले जानकारी दिए ।

पुरुष फिजिक्स १७० सेन्टिमिटरभन्दा तल र १७० सेमीभन्दा माथि र महिला फिजिक्समा खुला समूह रहनेछ । यसमा विजयी खेलाडीलाई १५ हजार, द्वितीयलाई १० र तृतीयलाई ५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

शारीरिक सुगठन विधातर्फ समग्रमा विजयी खेलाडीलाई ७५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान नगरिने खेल संयोजक रानाले जानकारी दिए । समग्र विजेता नै प्रथम तिलोत्तमा श्री ट्रफीका साथ विजेता घोषणा हुनेछन् । 

 

 

 

प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ १० जना गरी १०० भन्दा बढी खेलाडी सहभागी हुने आयोजककाे अपेक्षा छ । खेल सञ्चालनको जिम्मेवारी एक्सट्रिम फिटनेस क्लबलाई दिइएको छ । प्रतियोगिता सञ्चालनका लागि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शारीरिक सुगठन कडा परिश्रम गर्नुपर्ने र महंगो मानिने खेलमा पर्छ । 

प्रतिक्रिया दिनुहोस