बङ्गलादेशमा पक्राउ पर्नेको सङ्ख्या २५०० नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १५ : ४२
बङ्गलादेशमा पक्राउ पर्नेको सङ्ख्या २५०० नाघ्यो

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधान जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ । मंगलबार एएफपीले यो आँकडा सार्वजनिक गरेको हो ।

देशभरमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको सङ्ख्या सो स्तरमा नाघेको हो । विरोध प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत छन् ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो ।

शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको सङ्ख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको सङ्ख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।

तर विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नु पर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ । प्रदर्शन रोक्न देशभरमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।