‘जनसङ्ख्या वृद्धि नभए नेपालको अस्तित्व रहँदैन’: गोपिलाल न्यौपाने

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १६ : १९
‘जनसङ्ख्या वृद्धि नभए नेपालको अस्तित्व रहँदैन’: गोपिलाल न्यौपाने

काठमाडौँ । दर्शन चिन्तक प्राडा गोपिलाल न्यौपानेले जनसङ्ख्या वृद्धि गर्ने दिशातिर नगए अबको एक शताब्दीपछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताएका छन्।शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अहिले पनि पञ्चायतकालीन जनसङ्ख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयावह उन्मुख रहेको दाबी गरेका हुन्।

उनले देश राजनीति अस्थिरताको भुमरीमा फस्नु, राजनीतिक दलहरू सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौँदेखि गरिबी र पछौटेपनामा गुज्रनुपरेको आरोप पनि लगाए। उनले भने, ‘कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैँ हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौँ ।

काठमाडौँ जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको उनको भनाई छ ।उनले भने, ‘कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ अनि कसरी बन्छ देश ।

भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रतिवर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौँको तीन सय ९५ मात्रै छ, अनि कसरी जनसङ्ख्या ज्यादा भयो?’ जनसङ्ख्याविद नवराज थापाले देशको जनसङ्ख्या घटी र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । 

नेपालमा वर्तमान जनसङ्ख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्युदर घट्न गएको र निर्भर भन्दा काम गर्ने उमेरका जनसङ्ख्याको हिस्सा बढी भए पनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दुर्भाग्य भएको थापाले बताए ।

उनले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको सङ्ख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘विश्वमा हाल आठ अर्बभन्दा बढी जनसङ्ख्याको बसोबास भइरहँदा, विकसित देशहरूमा १६ प्रतिशत र कम विकसित देशहरूमा ८४ प्रतिशत छ । त्यसै गरी एसियामा विश्व जनसङ्ख्याको करिब ५९ प्रतिशत जनसङ्ख्या छ । ती मध्ये भारत र चीनमा सर्वाधिक जनसङ्ख्याको बसोबास छ । नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अर्बको अन्तर हुँदा नेपालले सन्तुलित जनसङ्ख्या नीति अबलम्बन गर्नुपर्ने अवस्था आएको छ ।’

नेपालले बेलैमा जनसङ्ख्यालाई समान वितरण र ठुला मुलुकहरूसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नस्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।   

प्रतिक्रिया दिनुहोस