नारायणगढ–बुटवल सडकमा ५२ प्रतिशत काम सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २० असार २०८१, ०७ : ४९
नारायणगढ–बुटवल सडकमा ५२ प्रतिशत काम सम्पन्न

नवलपरासी । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । 

यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद  सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए। 

योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए । उनले भने, “यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ । ” 

कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताउनुभयो । बेस तयार भएको काम सके यात्रुलाई छ-सात किलोमिटर थप यात्रामा सहज हुने उनले बताए । 

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ । “म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ”, योजना प्रमुख मगरले भने । 

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए । “नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ”, उनले भने, “छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्नेनै हो ।”

प्रतिक्रिया दिनुहोस