काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ ।
चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइने छ ।
चिकित्सालयका प्रमुख डा. नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए ।
यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्र पनि राखिएको छ ।
मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ ।
मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ । डा. नेपालले नेपालमा करिब पाँच हजार छ सय जडीबुटीबाट औषधि उत्पादन हुने गरेको अध्ययनले देखाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी