बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

रासस

शनिबार, ०१ असार २०८१, १३ : ४७
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

चितवन । स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको बताए ।

कार्यकारी निर्देशक डा पौडेलले हाल देशमा क्यान्सर विषयमा मात्र अध्ययन–अध्यापन गर्ने गराउने सुपर स्पेसियालिटी प्रतिष्ठान समेत नभएको उल्लेख गर्दै अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरिएको, राष्ट्रिय चिकित्सा आयोगबाट ‘सुपर स्पेसियालिटी’ अध्यापनका लागि अनुमति लिई तीनवटा विधामा सञ्चालन भएको र हाल क्यान्सरका विभिन्न सात विधामा ‘फेलोसिप’ कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको जानकारी दिँदै उनले मन्त्रालयले सुपर स्पेसियालिटी प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने बताए ।

विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराइएको रकम न्यून भएको भन्दै डा पौडेलले क्यान्सरको उपचार पद्घति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्घि गरी प्रतिबिरामी कम्तीमा रु पाँँच लाखसम्म पु¥याउनुपर्नेमा जोड दिए । रकम वृद्घि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको र अस्पतालको पहलमा वाग्मती प्रदेश सरकारले रु ५० हजार दिने व्यवस्था भएको, लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिने सम्झौता गरेको, गण्डकी प्रदेश सरकारसँग रु एक लाख सम्झौता भएको र अन्य प्रदेशहरुसँग पनि छलफलको क्रम रहेको छ ।

कार्यकारी निर्देशक डा पौडेलले स्वास्थ्य बीमा समितिबाट पाउनुपर्ने रकम भुक्तानीमा विलम्ब हुँदा सेवा सञ्चालनमा कठिनाइ भएको बताए । उनले भने । अस्पताल एक सय शय्यामा सञ्चालन हुँदा आर्थिक वर्ष २०६९र७० मा प्राप्त बजेट २१ करोढ ४२ लाख भएको र त्यसयता चार सय ५० शय्या हुँदा स्वास्थ्य कर कोषको रकम घट्दो क्रममा आई गत आर्थिक वर्षमा रु २३ करोडमा झरेको उनले जानकारी गराए । उनका अनुसार गत आर्थिक वर्षको सञ्चालन खर्च रु ९२ करोड ९२ लाख २७ हजार पाँच सय ७९ रहेको छ, गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ४८ करोड ८८ लाख ९६ हजार तीन सय ४० आम्दानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस