विश्व वातावरण दिवसको अवसरमा भारतीय दूतावासले गर्‍यो ललितपुरमा वृक्षारोपण

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १३ : ५७
विश्व वातावरण दिवसको अवसरमा भारतीय दूतावासले गर्‍यो ललितपुरमा वृक्षारोपण

काठमाडौं। नेपालस्थित भारतीय दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण गरेको छ ।विश्व वातावरण दिवसको अवसरमा बुधबार ललितपुर महानगरको वडा नम्बर १ स्थित सङ्कटा पुल तथा चारधाम मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको सहभागिता थियो ।

दूतावासका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागिता थियो ।वातावरणको संरक्षण र जगेर्ना गर्ने हेतुले साझा प्रतिबद्धतामा विशेष जोड दिइएको दूतावासले जनाएको छ ।

वृक्षारोपणपछि राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्त्वबारे जनचेतना फैलाउन जरुरी रहेको बताएका थिए । आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

 

यस्तै मन्त्री सुडी र ललितपुर महानगरका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्त्वमाथि जोड दिएका थिए ।कार्यक्रममा सहभागीहरूले १५० वटा वृक्ष रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस