बुटवलमा मदन भण्डारी स्मृति खुला हाफ म्याराथन हुँदै, १०० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १४ : १२
बुटवलमा मदन भण्डारी स्मृति खुला हाफ म्याराथन हुँदै, १०० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने

बुटवल। नेकपा (एमाले)का स्व महासचिव मदन भण्डारी स्मृति दिवसको अवसरमा यही जेठ ३ गते बुटवलमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा पाँचवटा ‘इभेन्ट’ ‘रोड रेस’ प्रतियोगिताका गर्न लागेको हो ।

एकेडेमीले मंगलबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका तयारी पूरा भएको जानकारी दिएको छ ।  स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन देशभरीबाट धावकहरू बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

हाफ म्याराथनको दूरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा मात्रै एक सयभन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट शुरू हुनेछ । हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै १० किलोमिटर (कलेजस्तरीय खुला छात्र र खुला महिला) दौडका विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार,  चौथो, पाँचौ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

५ किमी (विद्यालयस्तरीय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तैगरी ३ किमी (विद्यालयस्तरीय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ । 

यसैगरी विद्यालयस्तरीय १० वर्षसम्मका छात्र-छात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ ।प्रतियोगितालाई व्यवस्थित बनाउन साइकल टिमसँगै स्वयंसेवक परिचालन गरिने खेल संयोजक मोहन घलेले जानकारी दिए । 

सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक चार हजारका दरले औषधि खर्च उपलब्ध गराउने पनि उनले बताए । स्थापनापछि यसले खेलाडी उत्पादन, राष्ट्रिय– अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए।

गतवर्ष लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस