– बाबु किस्मत
गोलसिमल चरीलाई सिमलचरी पनि भनिन्छ । गोलसिमल नेपाली लोक विश्वासमा बाँचेको लेकतिर पाइने एउटा अनौठो चरो हो । यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ । सिमलचरीलाई उसका स्वरको आधारमा ‘गोलसिमल’ भनिएको बुझिन्छ । जेहोस् यसलाई नेपाली परम्परामा धान (अन्न) बालीको कुनियुँमा बास गर्ने धान्यलक्ष्मी अर्थात् धानको देवी भनी मानिन्छ ।
यो चराले दिनमा होइन रातमा विरहको घडीमा लेकतिर हिउँदको महिनामा विजन वनबाट कारुणिक लयमा ‘गोलसिमल–गोलसिमल’ भनी सुरिलो श्वरमा गीत गाउँछ । यही स्वरको आधारमा यसलाई ‘गोलसिमल’ चरो भनिएको हो । लेकका गरा–गरामा धान झुल्ने बेलामा गोलसिमल चरा रातको समयमा मीठो श्वरमा कराउँछ ।
यस चराको घटनालाई आधार बनाई हाम्रा कतिपय कविहरूले आफ्नो सिर्जनामा यस चरालाई समेटेको पाइन्छ । राष्ट्रकवि माधव घिमिरेले आफ्नो काव्य ‘राजेश्वरी’ २०१७ ःहाल (२०)मा यसको सङ्केत गरेका छन् र अर्को कविताको शीर्षक नै ‘गोलसिमल’ (२०४९) दिई चर्चा गरेका छन् । त्यस्तै जनकवि केशरी धर्मराज थापाको एउटा खण्डकाव्यको नाम नै ‘गोलसिमल’ रहेको छ । यसरी गोलसिमल चराले कवि हृदय तानेको छ ।
गोलसिमल चराले कवि मनलाई मात्र तानेको छैन, यहाँ गोलसिमल नामले एक सदाबहार साहित्यकारलाई पनि तानेको छ । ती सदावहार साहित्यकार हुन् चितवन नारायणगढ मेनरोडका प्रेमविनोद नन्दन अर्थात् ‘गोलसिमल’ ।
ठ्याक्क उहाँलाई सम्झना छैन, २०५२ सालतिर हुनुपर्छ । नन्दनले एउटा कवितासंग्रह लेखेर तयार पारे । पुस्तकको नाम राखियो ‘विपनीका पाइलाहरु’ । पुस्तकको विमोचन गर्ने दिन पनि जु¥यो । पुस्तकको विमोचन कसबाट गराउने ? त्यतिबेला नन्दनले झट्ट सम्झनुभयो राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई । उहाँको हातबाट पुस्तक विमोचन गराउने निर्णय भयो । विमोचन कार्यक्रम काठमाडौँमा राखिएको थियो त्यतिबेला ।
‘मेरा कविताहरुको सानो भकारी ‘विपनीका पाइलाहरु’ पुस्तकको विमोचन राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नुभयो’ उसबेलाको ती दिन साहित्यकार नन्दनले नारायणगढ निवासबाट सम्झदै भने, ‘उहाँले पुस्तकको राम्रोसँग अध्ययन गर्नुभयो ।’ त्यतिबेला नन्दनलाई राष्ट्रकवि घिमिरेले सोध्नुभयो, ‘तिमी ठूलो व्यवसायी मान्छे, व्यवसायमा नै रातदिन खटिनुपर्छ, कतिबेला अक्षर कोर्ने समय पाउँछौँ ?’
राष्ट्रकवि घिमिरेले यस्तो प्रश्न गरेपछि सदावहार साहित्यकार नन्दन मुसुमुसु हाँस्नुभयो र भन्नुभयो, ‘राष्ट्रकविज्यू दिनभर त व्यवसाय गर्दैमा ठिक्क हुन्छ, सुत्नुअघि राति ९/१० बजेतिर केही समय बचत हुन्छ, अनि त्यतिबेला कलम चल्ने मौका पाउँछ ।’
नन्दनको कुरा सुनेपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले फेरि सोध्नुभयो, ‘त्यति थोरै समयमा पनि यस्ता राम्रा रचनाहरु उत्पादन हुन्छन त ? राष्ट्रकवि घिमिरे सोध्नुभएको पुस्तक विमोचनको त्यो क्षणलाई सम्झदै भन्नुभयो, ‘शव्दहरुको उत्पादन गर्न कोशिस गर्दैछु, कोही बेला राति अलि मीठा अक्षरहरु फुर्छन्, तीनलाई श्रृंगार गर्न पनि सजिलो लाग्छ । दिउँसो त फुर्सद पनि हुँदैन ।’
यसरी साहित्यकार नन्दन राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आफ्नो लेखनशैलीबारे प्रष्ट पार्दै थिए । राष्ट्रकवि घिमिरेले नन्दनलाई भन्नुभयो, ‘तिमी ‘गोलसिमल’ चराजस्तै रहेछौँ । रातिराति मीठो गीत लेख्ने÷गाउने । अबदेखि तिम्रो नाम ‘गोलसिमल’ रह्यो । अब म तिमीलाई ‘गोलसिमल’ भनेर बोलाउँछु ।’ त्यतिबेला जवान उमेरमा नै रहनुभएका नन्दन राष्ट्रकवि घिमिरेबाट नयाँ नाम पाएपछि उहाँले यतिमात्र भन्नुभयो, ‘साच्चै हो त राष्ट्रकविज्यू, नयाँ नाम दिनुभएकोमा ज्यादै खुसी लाग्यो । यस नामले पनि साहित्यमा उर्जा थपियो ।’
सायद आज त्यही उर्जाले होला, आजसम्म उहाँको कलम साहित्य रचनामा तिखारिएको छ । चितवनका धेरै साहित्य कार्यक्रममा उहाँ अहिले पनि पुगिरहनुभएको छ । हिजो राष्ट्रकवि घिमिरले राखिदिनुभएको ‘गोलसिमल’ नाम आज सबैको प्रिया बनेको छ । उहाँ भन्नुहुन्छ, ‘मैले गोलसिमल नाम पाएपछि साहित्यमा अझ अगाडि बढ्ने प्रेरणा मिलेको थियो । हुनसक्छ गोलसिमल नामले मलाई यो उमेरमा पनि साहित्यमा साथ दिइरहेको छ ।’ १९९२ सालमा तनहुँको बन्दीपुरमा जन्मिएर नेपाली साहित्य बाटिकामा आजसम्म रचनाका फूलहरु रोप्दै आउनुभएको छ । उहाँको साहित्यिक यात्रा आज कपाल सेतै फुल्दा पनि उस्तै ताजगी छ ।
उहाँले ६ वटा साहित्यिक कृति नेपाली साहित्यलाई दिनुभएको छ । साहित्यिक कृतितर्फ २०११ सालमा ‘झटारो’ गीतिसंग्रह, २०१५ को ‘अञ्जली’ गीति कवितासंग्रह ‘सपनीबाट ब्युँझेर (२०२३) ‘बिपनीका पाइला गीति कवितासंग्रह (२०५२) ‘भीडमा एक्लै एक्लै’ गजलसंग्रह (२०६३) र ‘ऐनाभित्रको आकाश’ गीतिसंग्रह (२०६३) ले आज नेपाली साहित्यलाई सिँगारिरहेका छन् ।
पंक्तिकारलाई मनपर्ने प्रेमविनोद नन्दनले रचना गर्नुभएको पुरानो नेपाली कथानक चलचित्र मोहनी फिल्मको गीत :
पहराको छातीबिच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, मजस्तो नै देख्छु
वनपाखा एकान्तमा उभिएको घर
जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर
मनको भारी गह्रुँगो छ, सँगै उचालौं
मनभित्र मायाको एउटा बस्ती बसालौं
साँझपख डाँडापारि दियो बलेजस्तै
जिन्दगीको अँधेरीमा आएँ लड्दैपढ्दै
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम !!
प्रतिक्रिया दिनुहोस