बेलायती रक्षा मन्त्रालयमा आज भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, १२ : २८
बेलायती रक्षा मन्त्रालयमा आज भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता

बेलायत । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भूतपूर्व गोर्खाहरुको मागका विषयमा त्रिपक्षीय वार्ता हुँदैछ । बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्ता दिउँसो दुई बजेदेखि साढे तीन बजेसम्म बेलायती रक्षा मन्त्रालयमा तय भएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली  राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा। एन्ड्रयू मरिसन सहभागी हुँदैछन्।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि। टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिँदैछन्।

बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्तामा यसपटक गोर्खाहरुको प्रमुख माग पेन्सनको मुद्धालाई  प्राथमिक दिइने भएकाले यो वार्तालाई विशेष महत्वकासाथ् हेरिएको छ ।

आजको बैठकको लागि यसअघि बसेको तयारी बैठकले समान पेन्सनकै एजेन्डामा केन्द्रित गर्ने पनि निर्णय गरेको थियो । यसअघिको वार्तामा इमिग्रेसन, वेल्फेयर, एनएचएसलगायतका विषयमा कुरा भएको थियो। तर बेलायती मन्त्रीको समय अभावका कारण पेन्सनसम्बन्धि विषयमा प्रवेश नै हुन नसकेकाले यसपटक सुरुमै पेन्सनको मुद्धा उठान गर्ने निर्णय भएको हो ।

रक्षा मन्त्रालयमा वार्ता चलिरहँदा वार्ताको पक्षलाई मजबुत र सकारात्मक बनाउने उद्देश्यले बाहिर गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् । वार्तामा जानेहरुको आँट र हौसला बढाउन भन्दै सत्याग्रहले वार्ता शुरु हुनु आधा घण्टाअघि दिउँसो साढे एक बजेसम्म रक्षा मन्त्रालयबाहिर भेला हुन सम्पूर्ण गोर्खा एवम् शुभेच्छुक सबै नेपाली र संघसंस्थाका प्रतिनिधिलाई आह्वान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस