काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद् योगेश गौचन थकालीले म्याग्दी–जोमसोम–कोरोला सडकखण्ड आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएका छन् । मुस्ताङको घास गाउँमा थकाली सेवा समिति केन्द्रद्वारा आयोजित १२ औँ तारा खेल प्रतियोगिताको उद्घाटन गर्दै सांसद थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।
उनले यो सडक बनाउन आफ्ना बुबा पूर्वमन्त्री रोमी गौचन थकालीले निकै कठिनाइका बिच ल्याएको योजना रहेको स्मरण गरे । उनले थकालीको सँस्कृति, पहिचानसँग धनुषवाण अर्थात् तारा खेल अत्यन्त सन्निकट, पहिचान र सम्बन्ध राखिएको बताए ।
सांसद थकालीले आफू मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि म्याग्दी–जोमसोम–जोमसोम कोरोला सडकमा सुधारात्मक संकेतहरू देखिएको बताए । जोमसोम–कोरोला सडकको बजेट व्यवस्था गरेर पनि बिगत ५ वर्षदेखि वातावरणीय मूल्यांकनको अभावमा बजेट कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।
सांसद् थकालीले पाँच वर्षमा वातावरण मूल्यांकन गर्ने ठेक्का पाएको कन्सल्टेन्टले ५ वर्षसम्म कुनै पनि प्रतिवेदन पेश नगर्दा काम अगाडि बढाउन समस्या भएको बताए । आफू अनवरत रुपमा म्याग्दी–जोमसोम सडकलाई पूर्णता दिन र जोमसोम–कोरोला सडक खण्डको स्तरोन्नति गर्न आईईए नभए पनि आईई गरी ५०–५० किलो मिटरको काम गरेर अगाडि बढाउने उनले बताए ।
सांसद थकालीले जिल्लासँग सम्बन्धित गर्नुपर्ने काम र गरिरहेका विकासका कार्यहरूमा विशेष ध्यान दिने बताए । कार्यक्रममा नेपाली कांग्रेस मुस्ताङका सभापति तथा पूर्वमन्त्री थकालीले आफूहरुसँग मिलेर अगाडि बढ्ने क्षमता भएको बताए ।
पूर्वमन्त्री थकालीले कार्यक्रमका लागि देश, विदेशबाट आएका खेलाडीहरूको स्वागत पनि गरेका थिए । पूर्वमन्त्री थकालीका अनुसार १२ औँ तारा खेल गोल्ड कप राष्ट्रिय प्रतियोगितामा देशभित्रका र लण्डन, जापान गरी २९ टीम र २९० खेलाडीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, ११ : १९
लेखकबाट थप