नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली, सातै प्रदेशमा तोके समन्वय अधिकृत

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १४ : १६
नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली, सातै प्रदेशमा तोके समन्वय अधिकृत

काठमाडौं। नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् ।राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन् ।

सो अवसरमा मन्त्रालयका सचिव डा. दीपकुमार खराललगायत मन्त्रालय र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुडीले मन्त्रालय तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयका काम अघि बढाउने बताए ।

 

'वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौं', मन्त्री सुडीले भने ।

मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफ्नो ध्यान केन्द्रित हुने उनको विश्वास छ ।

मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

उक्त निर्णयअनुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरू बद्रीराज ढुंगाना - कोशी, नवराज पुडासैनी - मधेश, राजेन्द्र केसी - बागमती, डा. महेश्वर ढकाल - गण्डकी प्रदेश, डा. बुद्धिसागर पौडेल - लुम्बिनी, मोहनदेव जोशी - कर्णाली र शिवकुमार वाग्ले - सुदूरपश्चिम प्रदेश समन्वय अधिकृत तोकिएको सचिव डा. खरालले जानकारी दिए ।

मन्त्री सुडी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस