शालिन मृत्युको गम्भीर अनुसन्धान गर्न अनेरास्ववियूको माग

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ०७ : ५५
शालिन मृत्युको गम्भीर अनुसन्धान गर्न अनेरास्ववियूको माग

काठमाडौ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन’ (अनेरास्ववियू) ले शालिन पोखरेल मृत्यु प्रकरणको तत्काल गम्भीर अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन माविमा कक्षा ८ मा अध्ययरत १४ वर्षीया शालिन छात्रावास (होस्टेल) मा यही फागुन १२ गते झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्या वा आत्महत्या भन्ने कुरा अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। 

उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूले जनाएको छ। 

‘विद्यार्थीको सुन्दर भविष्यको पर्यायवाची मानिने शैक्षिक संस्थाभित्र एउटी छात्राले यसरी अचानक ज्यान नै गुमाएको घटनाले अनेरास्ववियू मर्माहत बनेको छ’, अध्यक्ष आरती लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनासँग जोडिएर सार्वजनिक भइरहेका समाचारहरूले समग्र विद्यार्थी समुदायको व्यक्तिगत सुरक्षाको सवाल संवेदनशील बनिरहेको तथ्य उजागर भएको छ। विद्यार्थी आफ्नै विद्यालयमा झुन्डिएको अवस्थामा मृत फेला पर्नु, क्रमशः आत्महत्या दुरुत्साहन र हत्या भएको आशंका बढ्नु सामान्य विषय मान्न सकिन्न। अनेरास्ववियू यो घटनाबारे छिटो भन्दा छिटो अनुसन्धान अघि बढाउन, दोषी पत्ता लगाउन र दोषीलाई हदैसम्मको कारबाही अघि बढाउन सरकारसमक्ष जोडदार माग गर्दछ।’ 

प्रतिक्रिया दिनुहोस