भरतपुर मेयर्स कपको उपाधी अर्किडले जित्यो

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १९ : ४९
भरतपुर मेयर्स कपको उपाधी अर्किडले जित्यो

चितवन  । विद्यालय स्तरीय भरतपुर मेयर्स कपको उपाधी अर्किड स्कुलले जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा अर्किडले वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको अर्किडले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनाउन सफल भयो । १३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकिले १९ दशमलव १ ओभर खेल्दा पुरै विकेट गुमाएर ११० रन मात्रै जोड्न सक्यो ।

भरतपुर महानगरपालिकाको आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सहभागी थिए ।अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा गर्‍यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए ।त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो । प्रतियोगिताका विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रनिङ ट्रफीका साथै प्रमणपत्र वितरण गरिन् ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले लिग खेल्ने १० विद्यालयलाई जर्सी प्रदान गरेको थियो । त्यसैगरी एक्स्पर्टले प्रतियोगितामा सहभागी १० सामुदायिक विद्यालयलाई पनि क्रिकेट किट सहयोग गरेको थियो । एक्स्पर्टले विजेता टिमलाई ६० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ बराबरका क्रिकेट खेलकुद सामग्री पनि दिएको छ । प्रतियोगिताको सहआयोजकमा चितवन जिल्ला क्रिकेट संघ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस