मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर भित्र दलालहरुसँग बस्छन् : सांसद महरा

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १४ : १२
मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर भित्र दलालहरुसँग बस्छन् : सांसद महरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरूले विकास निर्माणका योजना लिएर जाने सांसदहरूलाई भेट नदिने गरेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद महराले सांसदहरूलाई सरकारका मन्त्रीहरूले भेट नदिने गरेका बताएका हुन् ।

उनले विकास निर्माणका योजनाहरूसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरूले बेवास्ता गर्ने गरेका बताए । उनले बाहिर सांसदहरू कुरेर बसिरहँदा भित्र मन्त्रीहरू दलालहरूसँग बसिरहेका हुने बताए ।

उनले आगामी दिनमा पनि मन्त्रीहरूले सांसदहरूलाई त्यसरी बेवास्ता गरेमा मन्त्रीका विरुद्धमा संसदमा कडा रूपले प्रस्तुत हुने र मन्त्रीहरूका विरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिए ।  उनले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरूलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

उनले भने–‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरू आएर बसिरहेका हुन्छन् । तर माननीयहरूले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरुले संसद्का सदस्य माननीयज्युहरुप्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईंका विरुद्ध फेरि यो भन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ’

सांसद महराले यो विषयमा आफूहरू मिडियामा जान पनि पछि नपर्ने बताए ।  उनले भने- ‘हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रीहरू छन्, उहाँहरूलाई निर्देशन दिनुपर्‍यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न माग समेत गरे । 

प्रतिक्रिया दिनुहोस