दयाहाङ अभिनीत दुई चलचित्र प्रदर्शन एकै दिन

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १२ : २६
दयाहाङ अभिनीत दुई चलचित्र प्रदर्शन एकै दिन

काठमाडौं । माघ महिनाको पहिलो शुक्रबार (५ गते), दोस्रो (१२गते) र तेस्रो (१९ गते) शुक्रबार रिलिजका लागि कुनैपनि नेपाली फिल्म छैन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा तीनसाता रिलिजका लागि नेपाली फिल्मको खडेरी देखिएको छ ।

चौथो साता अर्थात २६ गते भने दुई फिल्म ‘हात्तीछापा’, ‘दयारानी’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फिल्म मल्टिस्टार फिल्म हुन् । रोचक कुरो के छ भने दुवै फिल्ममा दयाहाङ राईको मुख्य भुमिका रहेको छ । दुवै फिल्म मध्य जुनै फिल्मको व्यवसाय खराब बनेपछि दयाहाङलाई धक्का लाग्नेछ । दुवै फिल्ममा दयाहाङको अलावा विजय बराल पनि छन् । 

दुई फिल्म मध्ये ‘हात्तीछापा’ सिमोस सुनुवारले निर्देशन गरेका हुन् । दयाहाङको अलावा सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ । 

फिल्म रेड बर्ड प्रोडक्शनको निर्माण भएको हो । फिल्मका प्रस्तुतिकर्ता किरण नेपाली हुन् । अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ । फिल्मको प्रचार प्रसार समेत सुरु भएकोले नसर्ने निर्माता नेपाली बताउँछन् ।

त्यस्तै ‘दयारानी’ अभिनेता माओत्से गुरुङले निर्देशन गरेको फिल्म हो । दयाहाङको अलावा फिल्ममा दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय फिल्ममा छ । कलाकार माओत्सेको यो निर्देशनमा डेब्यु फिल्म हो । बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान् र दयालु श्रीमती बिचको कथा भन्छ । 

गुरुङ समुदायमा दयालु युवतिलाई दयारानी भन्ने गरिन्छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । 

प्रतिक्रिया दिनुहोस